नयाँ इतिहास
– सीता `आस्था´ढुङ्गेल
हिड्दै गर्दा
बिच बाटोमा
यत्र तत्र छरिएको
एक टुक्रो जीवन
फर्काइ ल्याउन नसके पनि
चुनौतीहरूका अघिल्तिर
मेट्दै
असफल समयका डोबहरू
घिसार्दै घिसार्दै
पुन: फर्काउन सक्दिन
पुरानो समयलाई ।
तैपनि
फेरेर
आफू र समयलाई
बोकेर नयाँ इतिहास
मसँग
तम्तयार छन्
मेरा हातहरू
अग्रगामी कलम लिएर
उभिनलाई ।
हृदयका भावनाहरु
पुरानो इतिहासको
खण्डहरमाथि टेकेर
नयाँ इतिहासको
खाका कोरिरहेछन्
मौन बसेर
मेरो आँखाको
ऐना अगाडि।