भृकुटी न्यूज, पोखरा । नुवाकोटका राजकुमार तामाङले आफ्नो ५ वर्षीय छोराको शव घाँटीमा लगाएको टाइ र माला हेरेर चिने । उनका छोरा प्रिन्सले स्कुलकै ड्रेस टाइ लगाएका थिए । स्कुल जाने क्रममा भोटेकोशीको बाढीमा बगेका प्रिन्सको शव नवलपुरको नारायणी किनारमा भेटियो । शव ल्याएर नेपाल प्रहरीले वेबसाइटमा सार्वजनिक गरेपछि त्यही फोटो हेरेर राजकुमारले छोराको शव पहिचान गरे । उनी पोखरा आएर छोराको शव लिएर फर्किए
भक्तपुरका सत्यकृष्ण पराजुलीले भने दाजु सत्यसुन्दर प्रजापतिको शव घाँटीको ट्याटुबाट पहिचान गरे । सत्यसुन्दरलाई रसुवाबाट बगाएर ल्याएको थियो । अघिकांश आफन्तले शवको पहिचान विभिन्न संकेतबाट गरिरहेका छन् । धेरैजसोले कपडा, गहना र ट्याटु तथा अन्य अंगमा भएका संकेतबाट आफ्ना प्रियजनको शव चिनिरहेका छन् ।
भोटेकोशी बाढीले बगाएर ल्याएका १ सय २ शव पोखरा ल्याएर स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ ।
सबै शव सग्ला छैनन् । शवहरूको फोटो खिचेर डिस्प्लेमा राखेपछि सबैले त्यहीँबाट पहिचान गरेका हुन् । गोरखा, तनहुँ र पूर्वी नवलपरासीमा भेटिएका शव पोखरा ल्याइएको हो । केहीको हातमात्रै, केही खुट्टामात्रै छन् । धेरै शव सग्लो नभएका कारण पहिचानमा पनि मुस्किल भएको छ । एउटा शवमा त ३ परिवारले आफ्नो दाबी गरे । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको शवको फोटो हेरेर ३ परिवारले उक्त शव आफ्नो आफन्तको भएको दाबी गरेका हुन् । हालसम्म उक्त शवको पहिचान हुन सकेको छैन । कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले भने, ‘एउटै शवमा ३ जनाले दाबी गरे । अब त्यो शव कसको भन्ने पहिचान गर्न सकिएको छैन । डीएनए निकालिएको छ, डीएनए परीक्षणपछि थाहा होला ।’
पोस्टमार्टममा फरेन्सिक विशेषज्ञ पनि सँगै खटिएका छन् । डीएनए परीक्षणको रिपोर्ट आउन कति समय लाग्छ भन्ने प्रस्ट छैन । भोटेकोशी बाढीले बगाएर ल्याएका शवहरू विभिन्न जिल्लाबाट संकलन गरेर पोखरामा ल्याइएको छ । संकलित १ सय २ वटा शवमध्ये ४६ वटाको पोस्टमार्टम गरिएको छ । पोस्टमार्टम भएका पनि १० वटा पहिचान भइसकेर आफन्तले बुझेर लगेका छन् । थप शवहरूको पोस्टमार्टम सुरु भैसकेका कार्कीले जानकारी दिए । उनका अनुसार पहिचान हुन नसकेका शवलाई पोखरा १६ को सिँचाइको जग्गामा गाड्ने तयारी गरिएको छ ।
‘पहिचान भएकाहरू आफन्तको जिम्मा लगाइन्छ । आजसम्म पहिचान नभएका शवलाई व्यवस्थापन गर्ने तयारी गरेका छौँ,’ कार्कीले भने, ‘डीएनए परीक्षणको रिपोर्ट आएपछि पहिचान गरेर आफन्तलाई बुझाउन सकिन्छ ।’
पोस्टमार्टमकै समयमा शवहरूको डीएनए निकालिएको छ । फिंगर प्रिन्टबाट पनि पहिचान खोज्ने प्रयास गरिएको छ । ‘पुरानो फिंगर प्रिन्ट सुरक्षित रहेछ भने सग्ला र औंलामा चोटपटक नलागेका शवको बायोमेट्रिकबााट पनि पहिचान गर्न सकिन्छ,’ उनले भने, ‘तर शव सग्ला छैनन् । बायोमेट्रिक विधि सम्भव कम छ ।’
एउटै शवमा धेरैको दाबी परेपछि विवाद समाधान गर्न समस्या भइरहेको प्रशासनले जनाएको छ ।
पहिचानका लागि बायोमेट्रिक वा औंठाछाप प्रयोग गर्न सकिने भए पनि अधिकांश शवहरूको शारीरिक अवस्था निकै क्षतिग्रस्त रहेकाले यो विधि चुनौतीपूर्ण बनेको छ । राष्ट्रिय परिचयपत्र जस्ता सरकारी दस्ताबेजमा रहेका औंठाछापसँग भिडाएर शवको पहिचान गर्न सकिने सम्भावना रहे पनि अहिलेको अवस्थामा त्यो कठिन छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानम शव पहिचानका लागि एक हजारभन्दा बढी आफन्त भेला भएका छन् । उनीहरूको बेचैनी, निराशा र रोदनले सिङ्गो अस्पताल क्षेत्रलाई मर्मात बनाइदिएको छ । यो दुःखद घटनाले मर्माहत भएका आफन्त र परिवारजनलाई नेपाल प्रहरीले सहायता कक्ष नै राखेर सहजीकरण गरिरहेको छ ।
एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु