भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता
कवि/साहित्यकार: मनिष हेल्लोक
कविता: ‘म कुन कविता भनौँ’
संक्षिप्त परिचय: नेपाली साहित्य तथा पहिचानवादी वैचारिक लेखनका क्षेत्रमा मनिष हेल्लोक एक सशक्त, सरल र विचारप्रधान स्रष्टाका रूपमा परिचित हुनुहुन्छ। ताप्लेजुङको प्राकृतिक एवम् सांस्कृतिक वातावरणमा जन्मिनुभएका हेल्लोकका रचनाहरूमा विशेष गरी देशप्रेम, जातीय पहिचान, सामाजिक समानता र उत्पीडित वर्गको रूपान्तरणको स्वर घन्किएको पाइन्छ।
स्रष्टा मनिष हेल्लोकको जन्म वि.सं. २०४४ सालमा ताप्लेजुङ जिल्लाको हेल्लोकमा भएको हो। उहाँको बुवा तुलविक्रम हेल्लोक र आमा चन्द्रमाया लाबुङ हेल्लोक हुनुहुन्छ। मातृभूमिको माटो र पूर्वी नेपालको लिम्बुवान संस्कृतिसँग हुर्किएका उहाँका सिर्जनाहरूमा आफ्नो भूगोल र इतिहासप्रतिको गहिरो मोह स्पष्ट झल्किन्छ।
अंग्रेजी विषयमा स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएका हेल्लोक एक अध्ययनशील स्रष्टा हुनुहुन्छ। उहाँको जीवन सङ्घर्षमय र निष्ठापूर्ण रहेको छ। वैचारिक तथा राजनीतिक चेतनाका कारण उहाँले २७ महिनासम्म झूटा राज्य अभियोग (राजमुद्दा) मा बन्दी जीवन समेत बिताउनुपरेको थियो। कारागारको यो कठिन अनुभवले उहाँको चेतनालाई थप तिखार्ने काम गर्यो, जसको प्रभाव उहाँको साहित्य र लेखनमा प्रत्यक्ष रूपमा देख्न सकिन्छ।
विशेष गरी वि.सं. २०७३ देखि २०८३ को एक दशकको अवधिमा उहाँका एक दर्जन महत्त्वपूर्ण साहित्यिक तथा अनुसन्धानमूलक कृतिहरू प्रकाशित भइसकेका छन्। लघु उपन्यास, नाटक, इतिहास, काव्य र राजनीतिक विश्लेषणात्मक लेखनमा उहाँको उत्तिकै पोख्त हात छ।
उहाँका प्रकाशित प्रमुख कृतिहरू:सुन्दर समाजका सपनाहरू (लघु उपन्यास)
सुम्निमाको कारुणिक कथा (लघु उपन्यास)
चेलीका सुस्केराहरू (लघु उपन्यास)
किरात लिम्बुवानको संक्षिप्त इतिहास (इतिहास)
लिम्बुवान क्रान्तिका चुनौतीहरू (भाग एक) (वैचारिक/राजनीतिक)
जनयुद्ध नाटक (नाटक)
अरुणपूर्व लिम्बुवान (नाटक)
तराई–पहाड लिम्बुवान (नाटक)
संविधानमा जातीय पहिचानको खोज (खण्डकाव्य)
पूर्वेली कविताहरू (कविता सङ्ग्रह)
लिम्बुवानका कविताहरू (कविता सङ्ग्रह)
संघीय सहअस्तित्व (संयुक्त कृति) आदि रहेका छन्।
स्रष्टा मनिष हेल्लोक मुक्कुम्लुङ साहित्यिक प्रतिष्ठानको अध्यक्ष पदमा रहेर प्रादेशिक तथा राष्ट्रिय साहित्यको श्रीवृद्धिमा निरन्तर क्रियाशील हुनुहुन्छ।
उहाँको काव्यिक धरातल अत्यन्त सरल र बोधगम्य छ। जटिल शब्दभण्डारभन्दा ठाडो, सीधा र स्पष्ट भाषामा आफ्नो भनाइ राख्नु उहाँको लेखनको मुख्य विशेषता हो। उहाँका कविता र नाटकहरू भावनामा मात्र बगेका छैनन्, तिनमा दर्बिलो विचार, देशभक्ति, पहिचानको खोजी र सामाजिक न्यायको बुलन्द आवाज समावेश छ। यस्तो प्रतिभाशाली युवा, स्रष्टा मनिष हेल्लोकको सम्मान सहित “भृकुटी न्यूज: शनिबार सहित्यमा आजको कविता” श्रृङ्खलामा प्रस्तुत गरेका छौं। उहाँको सुस्वास्थ्य एवं दीर्घ जीवनको कामना गर्दछौं।
भृकुटी न्यूज
साहित्य कला विभाग
काठमाडौँ ।