आफ्नै माटोमा
जीवनभर
बाँच्नका लागि पलपल मरेँ,
यही माटोमा श्रम गरेँ,
पसिना बगाएँ।
यही खोलामा
बालापन पौडियो,
यही किनारामा
सपनाहरू हुर्किए।
तर आज—
त्यही खोलाले
मलाई आफ्नो छातीमा होइन,
बाढीको निर्मम भेलमा बगायो।
आज—
बग्दैबग्दै
कहाँबाट कहाँ आइपुगेँ—
आफ्नै देशको माटोमा
आफ्नै नाम हराएको
एउटा अपरिचित शव बनेर।
उता
आफन्तहरू
अझै मेरो फर्कने बाटो हेरिरहेका होलान्—
यता म
बेवारिसे शवहरूको भीडमा
आफ्नै देशको माटोमा
अपरिचित भएर गाडिँदैछु।
तर
मेरो देश त यही थियो नि!
म यही माटोको मान्छे थिएँ,
यही माटोका लागि
जीवनभर पसिना बगाएको थिएँ।
कम्तीमा
माटोमा मिसिनुअघि
एकपटक सम्झिएको भए हुन्थ्यो—
ए मेरो सरकार,
म कोही बेवारिसे होइन,
तिम्रै देशको नागरिक थिएँ।