सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ ।
आज दिउँसो मन्त्रालयमा बसेको बैठकबाट आन्दोलनरत शिक्षक र मन्त्रालयबीच सहमति भएको हो । सहमतिसँगै शिक्षकहरुको आन्दोलन पनि फिर्ता भएको छ ।
शिक्षामन्त्री अशोक राई, शिक्षाराज्यमन्त्री प्रमिला कुमारी, सचिव सुरेश अधिकारीको सहभागीतामा राहत शिक्षकको सिमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिकतर्फ शतप्रतिशत कायम गर्ने सहमति भएको हो ।
संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरको शिक्षकहरु आन्दोलित भएका थिए । देशभरका सामुदायिक विद्यालयका शिक्षकहरुले काठमाडौंमा केन्द्रीत भएर गत बुधबारदेखि आन्दोलनमा उत्रेका थिए । शुक्रबार सरकारले आन्दोलनको आह्रान गर्ने नेपाल शिक्षक महासंघसँग ७ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित गरेको थियो ।
तर महासंघ र सरकारबीच भएको सहमतिमा असन्तुष्टि जनाउँदै राहतका शिक्षकहरुले आन्दोलन जारी राख्ने घोषणा गरेका थिए ।