भक्कानिएर रोएका कृष्ण बहादुर महरा अचानक गम्भीर बिरामी,नर्भिक अस्पतालमा उपचार हुँदै

0

काठमाडौँ – पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा अचानक गम्भीर  बिरामी परेका छन् ।

हाजिर जमानीमा आज रिहा भएका महरा घर जाने तयारी गरिरहेकै बेला अचानक  स्वास्थ्य अवस्था थप जटिल बने पछि  चिकित्सकको सल्लाहअनुसार अस्पतालमै राखिएको  पारिवारिक स्रोतले बतायो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको सहमतिमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनलाई हाजिर जमानीमा छोड्ने निर्णय गरेको थियो । उनलाई इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा रुपन्देहीबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो ।

सीआईबीका अनुसन्धान अधिकृतहरूले दुई दिन लगातार महराको बयान लिएका थिए । स्वास्थ्यका कारण नर्भिक अस्पतालमा भर्ना भएका महरालाई ब्युरोका अनुसन्धान अधिकृतहरूले बुधवार र बिहीबार माइतीघरस्थित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा ल्याएर बयान गराएका थिए । बयानका क्रममा पटक पटक भक्कानिएर रोएका महराले गम्भीर आघातको महसुस गरेका थिए । महराले ८ प्रकारका औषधि सेवन गर्दै आएका छन् । उनको घाँटीको टीबी,पोस्टेड,सुगर र मस्तिष्कको नशामा समस्या छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here