• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
सोमबार, भदौ ०८, २०८३
सोमबार, भदौ ०८, २०८३
VK
Vrikuti News
सोमबार, भदौ ०८, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

लोकप्रिय समाचार

  • १. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • २. ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

  • ३. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

काठमाडौँको बानेश्वरस्थित ‘चिया सागर’ को तेस्रो टेबलनजिकै, पूर्वतर्फको दोस्रो टेबलमा एउटा अलग्गै वैचारिक तरङ्ग बहिरहेको थियो । शिखर कवि शैलेन्द्र साकार, हिमाली कविका रूपमा प्रसिद्ध स्रस्टा युयुत्सु शर्मा र म, हामी तीनै जना कफीको चुस्कीसँगै संवादको शृङ्खलामा मग्न थियौँ । अग्रजहरूप्रति मनमा अगाध श्रद्धा र आदरको भाव अनवरत बगिरहन्छ मेरो । कफीका बाफसँगै उडिरहेका शब्दहरूले मलाई एकाएक पच्चीस वर्ष अगाडिको स्मृतिमा पुर्‍याइदिए।
त्यो बेला ‘ऋचमण्ड बेकरी क्याफे’ मा वियोगी बुढाथोकी दाइसँग यसरी नै गफगाफ हुन्थ्यो मेरो। त्यहाँको वैचारिक मन्थन र गफ सकिएपछि एउटा अलग्गै जोस र ऊर्जाका साथ मनु ब्राजाकी दाइलाई भेट्न पुगिन्थ्यो उहाँको निवासमा। परराष्ट्र मन्त्रालयको वातावरणमा कृसु क्षेत्रीसँग गाँसिएका किस्साहरू त झन् स्मृतिको पानामा अझै उत्तिकै रोमान्चक र ताजा भएर मुस्कुराउँछन् मेरा ।
हामी गफमा मग्न छँदा तेस्रो टेबलमा बसिरहेका दुई अपरिचित अधबैँसे मानिस मध्ये एक जनाले मलाई नियाल्दै सोधे,
“सरलाई कता-कता देखे जस्तो लाग्छ, सर पत्रकार हो?”
‘होइन, म कवि हुँ।’
मेरो जवाफ सुनेर अर्का अपरिचितले थपे,
“ए! सर कवि पो हुनुहुन्छ?”
यसपालि मैले मुस्कुराउँदै भनेँ,
‘होइन, म पत्रकार हुँ।’
ती जिज्ञासु युवाहरूलाई लाग्यो होला कस्तो अक्कडो र सन्काहा मान्छे रहेछ यो!
पत्रकार हो भनेर सोध्दा कवि हुँ भन्छ।
अनि कवि हो कि भनेर पक्का गर्न खोज्दा पत्रकार हुँ भन्छ। उनीहरू मलाई अलि अनौठो मान्दै बेवास्ता गरेर आफ्नै कुराकानीतिर लागे।
मेरो यो दोधारयुक्त जवाफ सुनेर युयुत्सु दाइले हल्का हाँस्दै भन्नुभयो,
“कस्तो जवाफ हो यो तपाइँ को ?”
शैलेन्द्र दाइले सम्हाल्दै भन्नुभयो,
“ठिकै त भन्नुभयो, आखिर ज्योति जी कवि पनि हो, पत्रकार पनि हो।” अग्रजहरूको त्यो संवादबीच मेरो चेतना भने धरानका स्वर्गीय कवि तथा साहित्यकार गोविन्द विकलको सम्झनामा पुगेर अडियो।
स्मृतिको पर्दामा एउटा पुरानो घटना सजीव भएर आयो। एक दिन प्रकाश आङ्देम्बे र म झापाबाट धरान पुगेका थियौँ। प्रकाश त्यहीँ हुर्किएको, बढेको र खेलेको धरानको रैथाने । धरानसँग उसको गहिरो कथा,व्यथा र नाता गाँसिएको छ । उमेर र सृजनाका हिसाबले उनी मभन्दा थोरै दाजु भए पनि हाम्रो सम्बन्ध र प्रेम साथीको जस्तै थियो । प्रकाश आङ्देम्बेजस्तै थुप्रै दाजु-साथीहरूको भाइ-साथी हुँ म।
त्यतिबेला धरान पुगेपछि हामीले सम्झिने र भेट्ने पहिलो नाम हुन्थ्यो, साहित्यकार गोविन्द विकल । आदर्शवादी र उच्च साहित्यिक व्यक्तित्वका धनी गोविन्द दाइ जीवनको आखिरी मोडतिर पत्रकारितासँग जोडिनुभएको थियो । यसलाई सुखद भन्ने कि दुःखद, म आज पनि अन्योलमै छु । कुनै समय गोविन्द दाइको घर भन्नु नै ‘ब्लास्ट दैनिक’ पत्रिकाको सानो कोठा बन्न पुगेको थियो।
हामीले धरानमा दाइलाई भेट्यौँ र जिज्ञासा राख्यौँ,
“दाजु! तपाईं त कविबाट पत्रकार हुनुभएछ!”
हाम्रो जिज्ञासामा गोविन्द दाइले अत्यन्तै सहज र गम्भीर भावमा भन्नुभएको थियो,
“होइन भाइ हो पिर नगर! म यी सबै पत्रकारलाई कवि बनाइदिन्छु।”
त्यतिबेला गोविन्द दाइको यो उत्तर सुनेर प्रकाश र म गज्जबले हास्यौँ । तर आज बानेश्वरको कफी टेबलमा बसेर विगत र वर्तमानलाई नियाल्दा बोध हुँदै छ वास्तवमा त्यो हाँस्ने कुरा थिएन रहेछ। गोविन्द दाइको त्यो भनाइभित्र कति गहिरो, व्यापक र विशाल दार्शनिक चेतना लुकेको रहेछ भन्ने कफीको अन्तिम चुस्कीसँगै मनमनै गुन्दै छु। कविताको भावभूमिबाट आएको परिचित एउटा कवि म, आज आफै पत्रकार हुन पुग्दा भोगिरहेको छु कवि हुनु र पत्रकार हुनुको द्वन्द्व ।

शब्दको किनारमा उभिएर दृश्य र अदृश्यका पानाहरू पल्टाउँदा
संसार जब निद्राको गहिरो काखमा ढल्किन्छ, रातको अँध्यारोले जब सहरका गल्लीहरूलाई आफ्नो अङ्कमालमा बाँध्छ, र घरहरूका झ्यालबाट बलिरहेका उज्यालाहरू एक-एक गर्दै निभाउँदै लगिन्छन् त्यही सन्नाटाको मुटुभित्र पनि एउटा मान्छे जागै हुनु पर्छ । त्यो कुनै योगी होइन, कुनै तपस्वी होइन, त्यो त केवल एउटा पत्रकार हो । जसको समयको घडीका सुईहरूले चौबीस घण्टाको चक्र पूरा गरिरहँदा उसको चेतनाको घडी भने कहिल्यै रोकिँदैन। उसलाई न रातको थकानले छोप्छ, न बिहानको शीतले तर्साउँछ। उसको सम्पूर्ण अस्तित्व सूचनाको एउटै तृष्णामा जोडिएको हुन्छ।
पत्रकार सूचनाको अनवरत तलासमा हिँड्ने एउटा यस्तो यात्री हो, जसको यात्रा घट्नाको गन्ध पहिल्याउँदै सहरका गल्लीहरूदेखि दूरदराजका भीर-पखराहरूसम्म पुग्छ। सत्ताका भव्य र आलिशान दरबारका बन्द कोठाभित्र हुने गाइँगुइँका गुप्त मन्त्रणादेखि लिएर सडकको पेटीमा भोकले तड्पिरहेको नागरिकको अन्तिम सुस्केरासम्म सबै कुरा उसको कानमा ठोक्किनुपर्छ ।
पत्रकार समाचारको पछि यसरी कुद्छ, मानौँ समाचार नै उसको सासमा बग्ने अक्सिजन हो । तर यो अनवरत तलाश जति रोमाञ्चक देखिन्छ, यसको भित्री यथार्थ त्यति नै भयावह र उथलपुथलले भरिएको छ ।
सूचनाको तलाशमा दगुरिरहेको त्यो पैतालामुनि सधैँ एउटा अदृश्य काँडा बिछ्याइएको हुन्छ । खतरा र आचारसंहिताको त्रास। एकातिर सत्यलाई बाहिर ल्याउने आन्तरिक छटपटी र हतारो हुन्छ, अर्कोतिर नैतिक रेखा र कानुनका लिखतहरूको कडा घेराबन्दी । अलिकति शब्दको सन्तुलन बिग्रेमा, एउटा सानो तथ्य डगमगाएमा वा कसैको प्रतिष्ठामा आँच आएमा उसको सम्पूर्ण पेसागत जीवन नै धराशायी हुन सक्छ । ऊ सत्य र संयमको यस्तो मसिनो धागोमाथि हिँड्छ, जहाँ एउटा सानो असावधानीले उसलाई गहिरो खाडलमा खसालिदिन सक्छ। निष्पक्षताको कसी, विश्वसनीयताको भार र आचारसंहिताको नैतिक चापले उसको मानसपटललाई सधैँ एउटा सूक्ष्म त्रासमा राखिरहन्छ । र, यो सबै अनवरत मानसिक र शारीरिक सङ्घर्षको पछाडि उभिएको अर्को तीतो यथार्थ हो, आशा । महिनाको अन्त्यमा पाउने थोरै वेतन र तनखाको आशा, जसले उसको भान्छाको आगो बाल्छ, नानीहरूको कापी-कलम किन्छ र घरको भाडा तिर्छ। दुनियाँको अधिकारका लागि ठूला-ठूला सम्पादकीय लेख्ने, अरूका हक-हितका लागि सडकमा माइक तेर्स्याउने र क्रान्तिका आवाजहरूलाई मुखरित गर्ने पत्रकार स्वयं भने महिनाभरिको आफ्नो पसिनाको मूल्य समयमा पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा दोधारिइरहेको हुन्छ । वेतनको त्यो झिनो आशा नै उसको अस्तित्व टिकाइराख्ने आधार बनेको हुन्छ, तर विडम्बना, त्यही आशा प्रायः निराशाका काला बादलहरूले ढाकिने गर्छन् ।
समाचार कक्ष (न्यूजरूम) को वातावरण कुनै युद्धमैदानभन्दा कम हुँदैन। त्यहाँ समयको टिक-टिक आवाजले मुटुको धड्कन बढाउँछ। त्यो युद्धमैदानको कमान्डर हुन्छ सम्पादक । सम्पादकको त्यो कठोर, नगलेको र अटल टाउको मिचेर, उसलाई आफ्ना तर्कहरूले मनाएर समाचारको पाना तयार पार्नु पत्रकारका लागि दैनिकजसो गरिने एउटा ठूलो सङ्घर्ष हो। सम्पादकको तिखो नजर, भाषाको कठोर काँटछाँट र दृष्टिकोणको द्वन्द्वलाई पन्छाउँदै आफ्ना सङ्कलन गरिएका तथ्यहरूलाई पत्रिकाको मुख्य पृष्ठमा पुर्‍याउनु सजिलो काम होइन।
अर्कोतिर छ सत्ता र राजनीतिको रहस्यमय मौनता। जब देशमा ठूला-ठूला काण्डहरू हुन्छन्, जब भ्रष्टाचारका विशाल पर्दाहरू पछाडि काला खेलहरू खेलिन्छन्, तब शक्तिमा बसेका नेताहरू मौनताको ढोकाभित्र लुक्छन् । तिनीहरू बोल्न चाहँदैनन्, तिनीहरू आफ्ना कर्तुतहरूलाई शब्दमा रूपान्तरण गर्न दिँदैनन् । तर पत्रकारको कला त्यहीँ प्रकट हुन्छ जब नबोलेका नेताहरूको मौनतालाई पर्गेलेर, तिनीहरूको आँखाको हाउभाउ, ओठको सूक्ष्म कम्पन र इशाराका सूक्ष्म सङ्केतहरूलाई पढेर समाचार बुन्नुपर्ने हुन्छ । नेता नबोले पनि उसले छाडेका इशारा र अस्पष्ट सङ्केतहरूका आधारमा निकट सूत्रको स्रोतलाई गोप्य राख्दै काम चलाउनु र सत्यको खोजी गर्नु पत्रकारको विशिष्ट चातुर्य हो।
यी सबै सकसका बीचमा एउटै धुन बजिरहन्छ, “भोलिको पत्रिका छाप्नु छ, ताजा समाचार निकाल्नु छ र प्रभावशाली व्यक्तिहरूको अन्तरवार्ता लिनु छ।” छापाखानाको मसीको गन्ध, रेडियोको फ्रिक्वेन्सी र टेलिभिजनको पर्दाले हरपल नयाँ खुराक मागिरहन्छ । यो एउटा यस्तो मेसिन हो जसलाई कहिल्यै विश्राम छैन। पत्रकार दिनरात नभनी समाचारको कच्चा पदार्थ खोज्छ, त्यसलाई शब्द र दृश्यको रूप दिन्छ र जनताको अगाडि पस्कन्छ।
तर यो अनवरत साधनाको अन्तिम परिणाम के त ? लाग्छ गोविन्द विकलको भनाइको मर्म यही प्रश्नले बोकेको छ ।
यहाँ आइपुगेर एउटा गहिरो र कारुणिक सत्य प्रकट हुन्छ, लाखौँ पत्रकारको कहिल्यै आफ्नो इतिहास बन्दैन । उसले दुनियाँका सम्राटहरू, क्रान्तिहरू, युद्धहरू र परिवर्तनहरूको इतिहास आफ्नो कलमले लेख्छ । उसले अरूका नामहरूलाई इतिहासको स्वर्णिम पानामा अमर बनाउँछ, तर उसको आफ्नै नाम भने समयको बाढीमा बिस्तारै पखालिएर जान्छ । उसले लेखेका हजारौँ समाचारहरू आजको ताजा तथ्य हुन्छन्, तर भोलि त्यो फोहोरको टोकरीमा वा रद्दीको टोकरीमा फालिने कागजको टुक्रा मात्र बन्छन् । समाचारको कुनै स्थायी ‘कृति’ बन्दैन। एकजना साहित्यकारले लेखेको उपन्यास वा कविले लेखेको महाकाव्य युगौँसम्म पुस्तकालयका र्याकहरूमा जीवित रहन्छ, तर एउटा पत्रकारले आफ्नो जीवनको सम्पूर्ण रगत र पसिना निचोरेर लेखेको खोजी समाचार भोलिपल्टै पुरानो र निरर्थक भइसक्छ । ऊ इतिहासको निर्माता त हो, तर स्वयं इतिहासहीन।
पत्रकारको जीवन प्रकृतिको सामान्य नियमभन्दा पूर्णतः उल्टो र विरोधाभासपूर्ण हुन्छ । साधारण मानिसहरू घाम लाग्दा तातो महसुस गर्छन् र जाडोमा न्यानो लुगा ओढ्छन्, तर पत्रकारको जीवन चक्र अर्कै दिशामा घुमिरहन्छ । ऊ घाममा सिरक ओढ्छ, जाडोमा लुगा खोल्छ । यसको तात्पर्य यो हो कि जब सम्पूर्ण संसार अनुकूल परिस्थितिमा विश्राम गरिरहेको हुन्छ, पत्रकार भने प्रतिकूल परिस्थितिको सामना गर्दै कार्यक्षेत्रमा खटिएको हुन्छ । गर्मीको प्रचण्ड रापमा, जब मानिसहरू शीतल छाँया खोज्छन्, पत्रकार भने जनताका पसिना, खडेरी र तातो हावाको समाचार सङ्कलन गर्न आफैँ आगोको ताप सहँदै हिँड्छ। जाडोको कठ्याङ्ग्रिने मौसममा, जब मानिसहरू आगोको नजिक बसेर न्यानो लिइरहेका हुन्छन्, ऊ शीतलहरले तड्पिरहेका मुसहर बस्तीहरूमा पुगेर तिनको दुःख र रोदनलाई शब्दमा उतार्न आफ्नो शरीरको कपडा खोलेझैँ कठ्याङ्ग्रिँदै काम गरिरहेको हुन्छ । अरूका लागि जुन मौसम आरामको हुन्छ, पत्रकारका लागि त्यही मौसम सबैभन्दा बढी काम र चुनौतीको हुन्छ।
यस्तो कष्टकर, उल्टो र निरन्तर पेलिएको जीवन जिउँदाजिउँदै पनि उसको मनभित्र एउटा सानो बत्ती बलिरहेको हुन्छ आशाको बत्ती । ऊ सोच्छ, “यो जुनी त जसोतसो बितिरहेछ, दुःख र अभावमै ढल्किरहेछ, तर सायद अर्को जुनी राम्रो हुनेछ।” यो जुनीमा न पाएको छ उचित सम्मान, न पाएको छ आर्थिक स्थायित्व, न पाएको छ परिवारसँग बिताउने सुखद समय । त्यसैले ऊ आफ्नो वर्तमानको असफलता र पीडाहरूलाई बिर्सन अर्को जन्म वा उज्ज्वल भविष्यको काल्पनिक सपना देख्न बाध्य हुन्छ । ऊ आफ्ना वर्तमानका घाउहरूमा भविष्यको काल्पनिक मलम लगाउँदै अगाडि बढ्छ ।

समय बदलिएको छ। प्रविधिको तीव्र विकासले पत्रकारिताको परम्परागत परिभाषा र स्वरूपलाई पूर्णतः फेरिदिएको छ आज । कहिलेकाहीँ मानिसहरू पत्रकारको यो निरन्तरको दौडधुप, निद्रा र बिउँझने फुर्सदसम्म नभएको व्यस्ततालाई देखेर श्रद्धाले शिर झुकाउँछन्। तिनीहरू भन्छन्, “तपाईं त देशको पहरेदार हो, तपाईं जिउँदो सपना हो, समाजको ऐना हो।” अनि अगाडि बढेर आदरपूर्वक नमस्कार गर्छन् । तर त्यो नमस्कारको न्यानोपन धेरै बेर टिक्दैन । त्यही मान्छे क्षणभरमै अर्कोतिर फर्कन्छ, उसको नजर बदलिन्छ र एउटा अनौठो, व्यङ्ग्यात्मक प्रश्न सोध्छ “सर, तपाईंको युट्युब च्यानल पनि छ?”
यो आजकालागि एउटा यस्तो प्रश्न हो, जसले गम्भीर, निष्ठावान् र खोजमूलक पत्रकारिता गरिरहेको व्यक्तिलाई भित्रैदेखि हल्लाइदिन्छ। ‘छ’ भनौँ भने आफ्नो निष्ठा, पेसागत मर्यादा र मूलधारको गम्भीर पत्रकारिताको इज्जतको सवाल आउँछ । किनभने आज युट्युब र सोसल मिडियाका नाममा भाइरल संस्कृतिको जुन विकृति फैलिएको छ, सनसनीपूर्ण थम्बनेल र अफवाह बेच्ने जुन होडबाजी चलेको छ, त्यसभित्र आफूलाई उभ्याउनु एउटा सच्चा पत्रकारका लागि आत्मग्लानिको विषय बन्न पुग्छ। ‘छैन’ भनौँ भने आजको बजार र मूलधार तिनै डिजिटल प्लेटफर्महरूमा स्थानान्तरण भइसकेको छ। आधुनिक समाजले गम्भीर खोज भन्दा सनसनीपूर्ण दृश्य खोजिरहेको छ। विश्लेषणात्मक लेखहरू भन्दा तीस सेकेन्डको भाइरल क्लिप खोजिरहेको छ। सत्य र तथ्यको खडेरी परेको यो युगमा केवल एल्गोरिदम र भ्युजको खेल नै ‘मूलधार’ बन्न पुगेको छ ।
यो स्थितिले एउटा निष्ठावान् पत्रकारलाई धर्मसङ्कटमा पारिदिन्छ । ऊ एकातिर पेसागत मर्यादा र आचारसंहिताको रक्षा गर्न चाहन्छ भने अर्कोतिर समयको यो तीव्र गतिसँग पछाडि छुट्ने डरले उसलाई लखेटिरहन्छ।
राज्यको सिद्धान्तले पत्रकारितालाई ‘चौथो अङ्ग’ को उच्च दर्जा दिएको छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकापछिको सबैभन्दा शक्तिशाली र उत्तरदायी अङ्ग हो पत्रकारिता । तर यो सैद्धान्तिक परिभाषा र व्यावहारिक जीवनका बीचमा एउटा विशाल र गहिरो महासागर छ। सबैका कथा लेख्ने, सबैका दुःख र पीडाहरूलाई उजागर गर्ने, अरूलाई न्याय दिलाउनका लागि आवाज उठाउने र अरूलाई रातारात चर्चित वा स्थापित बनाउने पत्रकार आफैँ भने जिन्दगीभर एउटा ओझेल परेको छाया मात्र बनिरहन्छ। उसले अरू धेरैका नामहरूलाई शीर्षक र खबर बनायो, तर उसको आफ्नै जीवनको कथा कहिल्यै मुख्य समाचार बन्न सकेन। उसको आफ्नै दुःख, उसको पेसागत असुरक्षा, उसको मानसिक तनाव र उसको आर्थिक सङ्कट कहिल्यै देशको छलफलको विषय बनेन। यहीँनिर एउटा यस्तो गम्भीर र कारुणिक प्रश्न खडा हुन्छ, जसले एउटा सिङ्गो जीवनको साधनालाई नै शङ्काको घेरामा उभ्याइदिन्छ:

” म एक पत्रकार, देशको चौथो अङ्ग… आजसम्म आफैँ समाचार बन्न सकिन। के मैले साँच्चै यो देश चिन्न सकिन ? ”

यो प्रश्न केवल एउटा व्यक्तिको हताशा होइन, यो त सिङ्गो पत्रकारिता जगत्‌को आन्तरिक रोदन र मर्म हो। के देश चिन्नु भनेको सत्ताको चापलूसी गर्नु मात्र थियो ? के देश चिन्नु भनेको बजारको सनसनीमा आफूलाई बेच्नु मात्र थियो ? यदि सत्यको पक्षमा उभिनु, निमुखाहरूको आवाज बन्नु, आचारसंहिताको परिधिभित्र रहेर अनवरत खटिनु र निष्ठाको कर्म गर्नु नै ‘देश नचिन्नु’ हो भने , शायद एउटा सच्चा पत्रकारले यो देश कहिल्यै चिन्न सक्नेछैन।
तर पनि, यी सबै दुःख, अभाव, त्रास, अवमूल्यन र पहिचानको सङ्कटका बाबजुद, भोलि बिहान जब फेरि पूर्वबाट सूर्य उदाउँछ, त्यो पत्रकार फेरि आफ्नो डायरी, कलम र क्यामेरा बोकेर सडकमा निस्कनेछ। किनभने, समाचार छाप्नु छ, सत्यको खोजी गर्नु छ, र यो समाजलाई बिउँझाइराख्नु छ। इतिहासमा नाम दर्ता नभए पनि, ऊ समयको यो अनवरत प्रवाहमा एउटा निष्काम कर्मयोगी बनेर हिँडिरहेको भेटिने छ । ओ ! गोविन्द विकल त्यो पत्रकार कहिले कवि बन्छ ?

  • #ज्योतिकिरण#साहित्य#भृकुटी न्यूज#कवि शैलेन्द्र साकार#युयुत्सु शर्मा# गोविन्द बिकल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक
शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

धेरै पढिएको

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • २.
    ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

ताजा समाचार

  • १.
    ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

  • ६.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.