नेपाली राजनीतिमा परिघटनाहरू जति तीव्र गतिमा बदलिन्छन्, ती परिघटनाले निर्माण गर्ने वैचारिक र संस्थागत सङ्कटहरू त्यो भन्दा बढी पेचिला बन्दै गएका छन् । २०८२ भदौ २३ र २४ को ‘जेनजी’ (Gen-Z) आन्दोलनले नेपाली राजनीतिमा जुन अभूतपूर्व धक्का दियो, त्यसको केन्द्रविन्दुमा परम्परागत राजनीतिक नेतृत्व र त्यसले सिर्जना गरेको शासनशैली थियो। उक्त आन्दोलनका क्रममा भएको निर्मम भौतिक प्रहार र आक्रोशपछि रणनीतिक रूपमा विदेशिएका नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब छ महिनाको प्रवासपछि स्वदेश फर्किएका छन्।
पत्नी आरजु राणा देउवालाई विदेशमै छाडेर एक्लै काठमाडौँ ओर्लिएका देउवाको यो पुनरागमन केवल एक व्यक्तिगत वा शारीरिक स्वास्थ्य लाभपछिको फिर्ती मात्र होइन, यो नेपाली राजनीतिको शक्ति-सन्तुलन, कानुनको शासन र भावी सत्ता समीकरणमा ठूलो तरङ्ग पैदा गर्ने घटना हो ।
आन्दोलनको राप र भौतिक आक्रमणको त्रासका बीच देश छोड्न बाध्य हुनु कुनै पनि शीर्ष राजनीतिज्ञका लागि ठूलो नैतिक र राजनीतिक धक्का हो । देउवाको यो पुनरागमनलाई विभिन्न कोणबाट हेर्न सकिने आधारहरू छन् । मुख्यतया लामो समय बाहिर बस्दा पार्टीभित्र र बाहिर आफ्नो राजनीतिक विरासत सिद्धिने जोखिम देखेपछि देउवाले जोखिम मोलेरै स्वदेश फर्कने निर्णय लिएका हुन् भने दोस्रो कुरा पत्नी आरजु राणा देउवालाई विदेशमै राखेर आफू एक्लै आउनुले कानुनी र राजनीतिक जोखिमलाई विभाजन गर्ने रणनीतिलाई सङ्केत गर्छ । देउवाले आफूलाई विशुद्ध राजनीतिक लडाइँका लागि अगाडि सारेका छन् भने कानुनी र वित्तीय अनुसन्धानको घेरामा रहेकी आरजुलाई प्रत्यक्ष राजनीतिक जोखिमबाट टाढा राख्न खोजेको स्पष्ट हुन्छ।
स्वदेश फर्किएलगत्तै देउवाले दिएको अभिव्यक्ति “मलाई कसैले केही गर्न सक्दैन, तत्कालीन राजा ज्ञानेन्द्रले त मेरो केही गर्न सकेनन् भने अरूले के गर्न सक्छन् ?” यो उनको भनाइ राजनीतिक मनोविज्ञानका दृष्टिले अत्यन्त महत्त्वपूर्ण छ । यो अभिव्यक्ति केवल आत्मबलको प्रदर्शन मात्र होइन, बरु तीव्र राजनीतिक रक्षात्मकता र चुनौतीको धम्कीयुक्त मिश्रण हो । देउवाले आफूलाई निरङ्कुश राजतन्त्रसँग जुधेर आएको ‘प्रजातन्त्रको कडा योद्धाका रूपमा पुनःस्थापित गर्न खोजेका छन् । तर, आजको राजनीतिक सन्दर्भ ज्ञानेन्द्रकालीन निरङ्कुशताको होइन, जनआक्रोश र सुशासनको मागबाट सिर्जित ‘जेनजी आन्दोलन’को हो भन्ने ख्याल गर्न बिर्सिएका देउवाका समर्थकहरूले यसैमा अन्धाधुन्दा ताली बजाए। पूर्वराजा ज्ञानेन्द्रसँगको तुलना गरेर उनले वर्तमान राज्यसंयन्त्र र नयाँ शक्तिहरूलाई नैतिक रूपमा निरङ्कुश सावित गर्ने प्रयास त गरेका छन्, तर यसले उनको विचारमा अझै पनि विगतकै धङधङी बाँकी रहेको र बदलिएको जनचेतनालाई स्वीकार गर्न हिचकिचाहट रहेको स्पट सङ्केत गरेको छ ।
यो आक्रोशले देउवा सजिलै आत्मसमर्पण गर्ने वा राजनीतिबाट विश्राम लिने मुडमा छैनन् भन्ने प्रष्ट पार्छ। उनी आफ्ना पुराना शक्ति, राज्यसत्तामा अझै बाँकी रहेको प्रभाव र समर्पित कार्यकर्ता पङ्क्तिलाई परिचालन गरेर आफूविरुद्ध भइरहेका घेराबन्दी तोड्न चाहन्छन् भन्ने देखिन्छ ।
सरकारले शेरबहादुर देउवा र आरजु राणा देउवामाथि सम्पत्ति शुद्धीकरण र अन्य भ्रष्टाचारका मुद्दाहरूमा छानबिन तीव्र बनाउने तयारी गरिरहेको बेला देउवाको आगमनले कानुन कार्यान्वयनको परीक्षा खडा गरिदिएको छ। यदि सरकारले साँच्चै विधिको शासन स्थापना गर्ने दृढता देखाउने हो भने देउवा र उनको परिवारमाथि निष्पक्ष अनुसन्धान हुनुपर्छ। यसले राज्यका निकायहरू राजनीतिक दबाबभन्दा माथि छन् भन्ने सन्देश दिन्छ। देउवाले आफूमाथिका आरोपहरूलाई राजनीतिक प्रतिशोधको रूपमा परिभाषित गरिसकेका छन्। यदि अनुसन्धानलाई निष्कर्षमा नपुर्याई पक्राउ र रिहाइको नाटकमा सीमित गरियो भने त्यसले उल्टै देउवाप्रति सहानुभूति सिर्जना गर्न सक्छ। देउवामाथि कडा कानुनी कदम चालिएमा नेपाली कांग्रेसको देउवा पक्ष सडक र सदन दुवै ठप्प पार्ने रणनीतिमा जान सक्छ। यसले मुलुकलाई थप राजनीतिक अस्थिरतातर्फ धकेल्ने जोखिम रहन्छ। तसर्थ, सम्पत्ति शुद्धीकरणको मुद्दा अब केवल कानुनी विषय मात्र नरहेर सरकार र पुराना राजनीतिक दलहरूबीचको राजनीतिक अस्तित्वको लडाइँ बन्ने निश्चत छ । देउवाको पुनरागमनले देउवा पक्षधरहरूलाई पुनः सङ्गठित हुने मौका दिएको छ। यसले कांग्रेसभित्र आन्तरिक द्वन्द्वलाई थप उत्कर्षमा पुर्याउने निश्चित जस्तै छ। जेनजी आन्दोलन र नयाँ राजनीतिक शक्तिहरूको उभारले पुराना राजनीतिक दलहरूलाई सामूहिक अस्तित्वको सङ्कटमा पारिदिएको छ। देउवाको आगमनपछि कांग्रेस, एमाले र माओवादीजस्ता पुराना शक्तिहरूबीच अस्तित्व रक्षाको गठबन्धन बन्ने सम्भावना बढेको छ। नयाँ शक्तिहरू र राज्यका अनुसन्धान निकायहरूबाट बच्न पुराना दलहरू एकापसमा आरोप-प्रत्यारोप गरे पनि भित्री रूपमा एक-अर्काको संरक्षणमा उभिन बाध्य हुने अवस्था छ ।
समग्रमा देउवाको स्वदेश फिर्तीले वर्तमान सरकारका लागि निकै जटिल र चुनौतीपूर्ण परिस्थिति निर्माण गरिदिएको छ। सम्पत्ति शुद्धीकरणमा कारबाही गर्ने कि राजनीतिक सम्झौता गर्ने ? एकातिर सरकारमाथि जेनजी आन्दोलनको म्यान्डेट अनुसार पुराना भ्रष्ट नेताहरूलाई कारबाही गर्ने जनदबाब छ भने अर्कातिर राज्यसंयन्त्र भित्र अझै पकड जमाएर बसेका पुराना दलहरूको प्रतिरोध झेल्नुपर्ने बाध्यता छ। देउवाको आक्रामक शैली र सम्भावित विरोध प्रदर्शनले सरकारको ध्यान सुशासन र विकासभन्दा पनि दैनिक राजनीतिक सङ्कट व्यवस्थापनमा केन्द्रित गराउने देखिन्छ । नेपाली राजनीति अब विचारधारागत भन्दा पनि पुस्तान्तरण र सुशासनको ध्रुवीकरणमा प्रवेश गरेको छ।
देउवाको आक्रोश र नयाँ शक्तिहरूको अडानले यी दुई धारबीचको दूरी अझ बढाउनेछ। पुराना दलहरूले नयाँ शक्तिहरूलाई अपरिपक्व र अराजक देखिरहेका छन् भने नयाँ शक्तिहरूले पुराना दलहरूलाई यथास्थितिवादी र भ्रष्टको संज्ञा दिइरहेका छन् । यो असमझदारीले आगामी दिनमा थप राजनीतिक तनाव र सडक सङ्घर्ष सिर्जना गर्न सक्छ।
समग्रमा शेरबहादुर देउवाको पुनरागमन र उनले दिएको वक्तव्यले नेपाली राजनीति पुनः एउटा नयाँ द्वन्द्वको मोडमा आइपुगेको सङ्केत गर्छ। तर, सबै राजनीतिज्ञहरूले के बुझ्न जरुरी छ भने आजको नेपाल २०६२/६३ को जस्तो छैन । राजा ज्ञानेन्द्रले केही गर्न सकेनन् भनेर अहङ्कार प्रदर्शन गर्नु बदलिएको जनचेतना र युवा पुस्ताको आक्रोशमाथि घिउ थप्नु मात्र हो। राज्यका निकायहरूले कुनै व्यक्तिविशेषको कद हेरेर होइन, कानुनको निष्पक्ष पालना गरेर मात्र जनताको विश्वास जित्न सक्छन्। पुराना दलहरूले आफ्नो अस्तित्व बचाउन केवल गठबन्धन र षड्यन्त्रको सहारा नलिई, आफूभित्र व्यापक रूपान्तरण र शुद्धीकरण ल्याउनै पर्छ। नत्र, इतिहासको पानामा ज्ञानेन्द्र मात्र होइन, प्रजातन्त्रका नाममा अहङ्कार बोकेका धेरै पात्रहरू पछाडि छुट्नेछन् ।