भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता
कवि, साहित्यकार : प्रा. डा. देवी नेपाल
कविता: देशचिन्तन
संक्षिप्त परिचय: पूर्वी नेपालको हरियाली, उर्वर र काव्यमयी माटो झापा (हल्दीबारी—१, गोल्धाप) मा पिता कुबेरनाथ नेपाल र माता मनमाया नेपालका कोखबाट २०३० साल वैशाख १८ गते जन्मनुभएका देवी नेपाललाई झापाको माटोमा हुर्किएको मातृवात्सल्य, प्रकृतिप्रतिको अगाध प्रेम र बाल्यकालीन संस्कारले सानैदेखि शब्द र लयसँग जोडिदियो। उहाँका बाल्यकालमा पोखिएका भावनाका झिल्काहरू कालान्तरमा नेपाली साहित्यका ज्योति बनेर चम्किदै गएका छन् । हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. १, लोकन्थलीलाई आफ्नो थलो बनाएर उहाँ नेपाली भाषा, साहित्य र संस्कृतिको सेवामा अविरल साधना गरिरहनु भएको छ ।
प्रा.डा. देवी नेपाल विद्याका अनवरत उपासक हुनुहुन्छ। उहाँले संस्कृत र नेपाली साहित्य दुवै क्षेत्रमा अद्वितीय प्राज्ञिक सफलता हासिल गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा प्रथम श्रेणीमा एम.ए. र एक वर्षे बी.एड. तथा नेपाल संस्कृत विश्वविद्यालयबाट साहित्य विषयमा प्रथमश्रेणीमा आचार्य उपाधि हासिल गरी उहाँले आफ्नो बौद्धिक धरातललाई मजबुत बनाउनु भएको छ ।
नेपाली साहित्यको गम्भीर अनुसन्धानमा समर्पित हुँदै “प्रगतिवादी नेपाली खण्डकाव्यमा द्वन्द्वविधान” विषयमा विद्यावारिधि (पिएच.डी.) गर्नुभएको छ । काठमाडौँस्थित वाल्मीकि क्याम्पसमा प्राध्यापकका रूपमा कार्यरत उहाँ ज्ञानको ज्योति फैलाउने प्रखर शिक्षाविद्को रूपमा स्थापित हुनुहुन्छ । आफ्नो प्राज्ञिक यात्राका क्रममा उहाँले नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य तथा साहित्य (बालसाहित्य र लोकवार्ता) विभाग प्रमुख (२०७५-२०७९) का रूपमा उत्कृष्ट नेतृत्व प्रदान गर्नुभएको छ । यसबाहेक पाठ्यक्रम विकास केन्द्र (सानोठिमी) को नेपाली विषय समिति सदस्य (२०७८-२०७९) र नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र (दाङ) को अनुसन्धान परिषद् सदस्यका रूपमा समेत उहाँले आफ्ना नीतिमूलक र प्राज्ञिक योगदान दर्ता गराउनु भएको छ ।
प्रा.डा. देवी नेपाल नेपाली काव्य, समालोचना, छन्दशास्त्र, बालसाहित्य तथा भाषाशिक्षणका पर्याय मानिनुहुन्छ । काव्यको गम्भीरता, छन्दको माधुर्य, समालोचनाको वस्तुपरकता र बालमनोविज्ञानको मिठास उहाँका कृतिहरूमा स्पष्ट देख्न सकिन्छ।
उहाँका प्रमुख प्रकाशित कृतिहरू: खण्डकाव्य / महाकाव्य / काव्य: श्रद्धाञ्जली (२०५७), त्रिशतक (मुक्तकाव्य, २०६३), भानु भन्दै हिँडी रहूँ (यात्राकाव्य, २०७२), आरोहण (संयुक्त महाकाव्य, २०७४), पागल (खण्डकाव्यत्रयोदशभित्र, २०७७), समुद्रमन्थन (खण्डकाव्य, २०७७)।
कवितासङ्ग्रह: माटो र मुटु (२०६७), सलादजस्तो देश (२०७१)।
छन्द शास्त्र र ध्वनि सिद्धान्त: छन्दको सुगन्ध (क्यासेट, २०६०), छन्द-पराग (लक्षणशास्त्र, २०६२), छन्द-तरङ्ग (एकल सिडी, २०७३)। उनलाई नेपाली साहित्यमा छन्दको पुनःजागरण ल्याउने मुख्य अभियन्ता मानिन्छ।
समालोचना तथा सिद्धान्त: साहित्य सन्ध्या र पुरस्कृत प्रतिभाहरू (२०६४), गजल कसरी लेख्ने? (२०६६), काव्य समालोचना (२०६८), समयरेखा (२०६८), लेखन शिल्प (के कसरी लेख्ने?) (२०७८), सम्यक् दृष्टि (२०७८), कृति र प्रवृत्ति (२०७८), पहिलो पाठक (२०७८), युगकवि सिद्धिचरणका कवितामा छन्दविधान (२०७९), र नेपाली खण्डकाव्यको इतिहास (जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास, भाग-४, २०७९)। बालसाहित्य: कुखुराको बिहे (बालकाव्य, २०६५), निबन्ध मुना (२०७०), निबन्ध कोपिला (२०७१), मैना चरी दङ्ग परी (२०७२), नाना देऊ पुतली (२०७४), अआ पढ्ने बेला (२०७४), को छ हँ? (२०७४), गन्दै गन्दै जान्छु (२०७४), क ख ग घ पढ न (२०७६), र मामाघरको रोपाइँ (२०७७)।अन्य सहलेखन: तितामीठा कुरा (नीतिसङ्ग्रह, २०६३) प्रकाशित छन् । उहाँका गजलको सौन्दर्यशास्त्र-१, समालोचनासङ्ग्रह (४ ओटा), भूमिकासङ्ग्रह (२ ओटा), कवितासङ्ग्रह, गीत-गजलसङ्ग्रह र बालकाव्य गरी अनेकौँ कृतिहरू प्रकाशोन्मुख अवस्थामा रहेका छन्।
शैक्षिक सामग्री र पाठ्यपुस्तक निर्माणमा डा. नेपालको योगदान अतुलनीय छ । Nursery देखि Bachelor स्तरसम्मका ३५ ओटा पाठ्यपुस्तकहरू मात्र होइन पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित कक्षा ६ को नेपाली पाठ्यपुस्तकमा उनको ‘गुरु’ र हाल ‘मातृभूमिको आवाज’ कविता समावेश छन्।
विशिष्ट परियोजनाहरू कक्षा १ देखि ३ को एकीकृत पाठ्यपुस्तक, बहुकक्षा बहुस्तर कक्षा १ देखि ५ को पाठ्यपुस्तक, अनौपचारिक शिक्षाअन्तर्गत तह ३ देखि ४ को नेपाली पाठ्यपुस्तक र स्थानीय तहमा शुद्ध नेपाली भाषा प्रयोगसम्बन्धी सामग्रीहरू तयार पार्नुभएको छ ।
१५ ओटा कृति तथा पत्रिकाको कुशल सम्पादन, २५० भन्दा बढी पुस्तकहरूको भाषा-सम्पादन र २०० भन्दा बढी कृतिहरूमा गम्भीर भूमिका लेखन गरिसक्नु भएका डा. नेपाल २०५४ सालदेखि निरन्तर रूपमा छन्दकविताको पुनरुत्थानमा लाग्नु भएको छ । देश-विदेशका ४०० भन्दा बढी स्थानमा सिर्जनात्मक लेखन र छन्द प्रशिक्षण प्रदान गरिसक्नु भएका उहाँले नेपालका २०० भन्दा बढी स्थानमा पुगेर नेपाली भाषा, शुद्ध व्याकरण र शिक्षण पद्धतिको प्रशिक्षण दिनुभएको छ ।
एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक संस्थाहरूमा सक्रिय रूपमा आबद्ध उहाँ नेपाली भाषा, साहित्य र छन्दको सेवा गरेबापत देश तथा विदेशका अनेकौँ प्रतिष्ठित संस्थाहरूबाट सम्मानित हुनुहुन्छ । ६० भन्दा बढी पुरस्कार र सम्मानबाट अलङ्कृत उहाँका’छन्दरथी’ उपाधि : छन्दवादी समाज नेपाल, रुपन्देही (२०७३) ‘समकालीन नेपाली छन्दकविताका त्रिनेत्र’ उपाधि: (२०७६)
प्रतिष्ठित पुरस्कारहरू: युवावर्ष मोती पुरस्कार (२०६७), युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार (२०८०), पूर्णिमा साहित्य रत्न पुरस्कार (२०८०), निरू शर्मा पराजुली स्मृति अन्तर्राष्ट्रिय साहित्य पुरस्कार (असम, भारत – सन् २०२४),
शारदा कोइराला बालसाहित्य वाणी पुरस्कार (२०७०), तोयनाथ पाण्डेय पशुपतिकुमारी पुरस्कार (२०७३), भानु उत्कृष्ट रचना पुरस्कार (२०७४)। शुभप्रभात काव्यसम्मान (२०६३), अविरल साहित्य सम्मान (२०६३), भेरी साहित्य समाज सम्मान (२०६८), शुक्ला साहित्य सम्मान (२०७०), वैजयन्ती स्रष्टा सम्मान (२०७१), ज्योति स्रष्टा सम्मान (२०७३), महाकाली गजल प्रतिष्ठान सम्मान (२०७४), साहित्य कला सङ्गम सम्मान (२०७४)। असम नेपाली साहित्य सभा (गुवाहाटी, २०७२), अनाममण्डली, INLS, उदाउँदो तारा तथा प्रवासी नयन साहित्य समाज (मलेसिया, २०६७), साहित्य सुनौँ परिवार (मिरिक, दार्जिलिङ, २०७६), नेपाली साहित्य प्रचार समिति (सिलिगुढी, २०७६) । आदि जस्ता प्रमुख मान, पदवी,सम्मान र पुरस्कार रहेका छन् ।
प्रा.डा. देवी नेपाल नेपाली वर्णमालाका अक्षरहरूलाई जीवन्तता दिने सिद्धहस्त शिल्पी हुनुहुन्छ । छन्दको अनुशासन, अनुसन्धानको गम्भीरता, बालमनोविज्ञानको सरलता र सिद्धान्तको स्पष्टता उहाँको लेखनका मूल खम्बाहरू हुन्। जीवनका ऊर्जाशील वर्षहरू भाषा र साहित्यको श्रीवृद्धिमा समर्पण गर्नुभएका डा. नेपाल नेपाली साहित्य आकाशका एक नैतिकवान, प्रखर, उज्याला र भावी पुस्ताका लागि प्रेरणाका अजस्र स्रोत हुनुहुन्छ । यस्ता मुर्धन्य स्रष्टा प्रा. डा. देवी नेपालको उच्च सम्मान सहित “भृकुटी न्यूज: शनिबार सहित्यमा आजको कविता” श्रृङ्खलामा प्रस्तुत गरेका छौं। उहाँको सुस्वास्थ्य एवं दीर्घ जीवनको कामना गर्दछौं।
भृकुटी न्यूज
साहित्य कला विभाग
काठमाडौँ ।