भृकुटी न्यूज: शनिवार साहित्यमा आजको पुस्तक
लेखक: शैलेन्द्र अधिकारी
पुस्तक: तेजस्
विधा: उपन्यास
प्रकाशक: शिखा बुक्स
पृष्ठ : २९८
मूल्य : ७२५
लेखकको संक्षिप्त परिचय: धादिङको रमणीय अनि ऐतिहासिक माटोमा जन्मिएका शैलेन्द्र अधिकारी आधुनिक नेपाली साहित्यका एक सशक्त, बहुआयामिक र निष्ठावान् हस्ताक्षर हुन्। नीलकण्ठ–७, धादिङको काखमा पिता सीताराम अधिकारी र माता प्रभा अधिकारीको स्नेह तथा सुसंस्कारमा हुर्किएका अधिकारीले नेपाली भाषा र साहित्यको सेवामा आफूलाई अनवरत रूपमा समर्पित गर्दै आएका छन्। बाल्यावस्थादेखि नै साहित्यप्रति गहिरो अभिरुचि राख्ने उनी गम्भीर चिन्तन, भावुकता र विशिष्ट शैलीका कारण समकालीन नेपाली साहित्यमा बेग्लै पहिचान बनाउन सफल भएका छन्।
कथा, कविता, गजल, बालसाहित्य तथा समालोचना जस्ता साहित्यका विविध विधामा उनको कलम उत्तिकै सहज र प्रभावशाली ढङ्गले चलेको छ। मानव जीवनका सूक्ष्म संवेदना, युगीन चेतना, दार्शनिक गम्भीरता र सामाजिक यथार्थलाई शब्दमा ढल्काउनु उनको लेखनको मूल विशेषता हो।
नेपाली साहित्य भण्डारलाई समृद्ध बनाउने क्रममा उनका निर्वेद,ब्राह्मास्त्र,अर्हत् ,गजल रस, दिन रोएपछि, हिउँमाथिको जून, आऊ स्कुल जाऊँ र
‘उलार’ उपन्यासको शैलीवैज्ञानिक अध्ययन जस्ता महत्त्वपूर्ण कृतिहरू प्रकाशित छन् ।
‘तेजस्’ अधिकारीको तेस्रो उपन्यास हो। काठमाडौंको मुटुमा दन्किरहेको इतिहासको तेजोमय ज्वाला हो ‘तेजस्’ । नेपाली संस्कृति, समाज र राजनीतिको गहनतम दार्शनिक धरातलमा उभिएर लेख्ने शैलेन्द्र अधिकारीले यस उपन्यासमा कान्तिपुरको गौरवपूर्ण अतीत, नेवार समुदायको वेदना र राज्य सत्ताको क्रूर किनारीकरणलाई मिथकीय पात्रहरूको जीवन्त आवाजमार्फत् उजागर गरेका छन् । उनका कथासंग्रह ‘ब्रम्हास्त्र’ र उपन्यास ‘अर्हत्’ सुविख्यात छन् । ‘निर्वेद’मार्फत् सन् २०२१ मा अन्तर्राष्ट्रिय साहित्य समाजको सर्वोत्कृष्ट उपन्यास पुरस्कार विजेता अधिकारी केवल एक लेखक मात्र नभई नेपाली भाषाको श्रीवृद्धिमा निरन्तर लागिपरेका सच्चा साधक हुन्। सिर्जनात्मक लेखनसँगै अनुसन्धान र समालोचनामा समेत उत्तिकै दख्खल राख्ने उनका कृतिहरूले पाठकको मन जित्नुका साथै प्राज्ञिक क्षेत्रमा पनि विशेष स्थान बनाएका छन्। अक्षरको साधनालाई जीवनको परम ध्येय मान्ने अधिकारीका आगामी सिर्जनाहरूले नेपाली साहित्यलाई अझ उच्च शिखरमा पुर्याउन सकोस भन्ने शुभकामना सहित “भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक” श्रृङ्खलामा पुस्तक ‘तेजस्’ समावेश गरेका छौँ । स्रष्टा अधिकारीको सुस्वास्थ्य र दीर्घ जीवनको कामना सहित निरन्तर साहित्यिक यात्राको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
भृकुटी न्यूज
साहित्य कला विभाग
काठमाडौँ ।