जनकपुरधाम। सुनसरीको देवानगञ्ज लगायत मधेशका विभिन्न जिल्लामा जारी आन्दोलनका बीच गृहमन्त्री सुधन गुरुङले आन्दोलन स्थगित गरी वार्ता तथा संवादमा आउन हिन्दु सम्राट सेनाका प्रतिनिधिलाई सन्देश पठाएका छन्।सुनसरीेदेखि सुरु भएको विरोध हिंसात्मक दंगामा परिणत भएपछि गृहमन्त्रीले सो सन्देश पठाएको छ । दुई समूहबीच भएको झडप सिरहा, धनुषा, सर्लाही र पर्सासम्म भएको छ ।
घटना पछि सुनसरी पुगेका गृहमन्त्री गुरुङले आन्दोलन रोक्न र वार्तामार्फत समस्या समाधान खोज्न हिन्दु सम्राट सेनाका प्रतिनिधिहरूसँग संवादको पहल गरेका हुन्।हिन्दु सम्राट सेना नेपालका प्रतिनिधिले गृहमन्त्रीबाट आजै वार्ताका लागि सुनसरी आउन सन्देश पाएको पुष्टि गरेका छन्। सिराहाका एक जना प्रतिनिधिसभा सदस्यमार्फत वार्ताको पहल भएको तर हिन्दू सम्राट सेनाले पहिले जनकपुरमै संवाद हुनुपर्ने र त्यसपछि मात्रै सुनसरी जाने अडान राखेको स्रोतले बतायो ।