साहित्यकार प्रकट पंगेनी ‘शिव’ को निधन

0

४ बैशाख, पोखरा। प्रसिद्ध कवि, गजलकार , साहित्यकार प्रकट पंगेनी ‘शिव’को पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा  निधन भएको छ।

वैशाख ४ गते दिउँसो उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ७० वर्षीय पंगेनीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि  अस्पताल भर्ना गरिएको थियो । उहाँलाई निमोनिया र जण्डिसको समस्या देखिएको थियो।

धेरै जसो गजल, गीत, कवितामा कलम चलाउनु हुने उहाँको खास परिचय श्रृङ्गारिक गजलले दिएको थियो ।

उहाँका करिब ६० वटा गीत रेकर्ड गरिएका छन् । ‘यो मन कतै अल्झेको छ’ र ‘जुनको चिठी जुनाललाई’ गीत संग्रह तथा ‘प्रणयवेदका ऋचाहरू’ गजल संग्रह सँगै ‘अक्षरभरि अक्षता’ कविता संग्रह प्रकाशित छन्।

उहाँका पत्नी, एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँको उपचार निकै क्लिष्ट भएपछि र आर्थिक अवस्था जटिल भएपछि साहित्यिक जगतले उहाँको उपचारकालागि आर्थिक सहयोग सङ्कलन शुरू गरेको थियो । पोखरा महानगरपालिकाले एक लाख रूपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको थियो । पोखरेली सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले २५ हजार राखी उपचार कोष स्थापना गरेर सहयोगका लागि आह्वान गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here