बुटवल —सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा लगिएको रकमबाट कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेकी पत्नी निकिता पौडेलको नाममा समेत भुक्तानी गरिएको पाइएको छ । रूपन्देही जिल्ला अदालतमा आइतबार दायर पूरक अभियोजनमा सहकारीबाट लगिएको रकमबाट निकितालाई ३५ लाख चेकबाट र ९ लाख ९९ हजार नगदै दिएको उल्लेख छ ।
लामिछाने प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडियाको नाममा सिद्धार्थ बैंकमा खोलिएको खातामा सुप्रिम सहकारीबाट २ करोड २० लाख रकम जम्मा गरिएको थियो । उक्त खाताबाट निकितालाई रकम दिएको देखिएको अभियोगपत्रमा उल्लेख छ । अभियोगपत्रअनुसार निकिताले सन् २०२० सेप्टेम्बर २७ मा खाता नं. ०२४१५२०७२३१ बाट ३५ लाख र लगत्तै सेप्टेम्बर २९ मा गोर्खा मिडियाका पूर्वप्रबन्धक लक्ष्मीप्रसाद पौडेलबाट ९ लाख ९९ हजार नगद लिएको तथ्य फेला परेको छ । प्रहरीले यो प्रमाणलाई समेत उल्लेख गरेर मुद्दा अगाडि बढाएको छ ।