१० जेठ, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेमाथि गम्भीर प्रश्न उठाएका छन्। “मुलुकमा कानुन छ के यो कानुन गृहमन्त्रीलाई लाग्छ लाग्दैन ?” भन्ने प्रश्न गर्दै दुईवटा नागरिकता र दुईवटा पासपोर्ट बोक्ने गृहमन्त्री सहकारी ठगीमा संलग्न रहेको र उक्त ठगीबाट लामिछाने उम्कन सक्ने कुनै स्थिति नरहेको नेपाली कांग्रेसको ठहर रहेको बताएका छन्।
कैलाश सिरोहियाको गिरफ्तारीबारे प्रधानमन्त्री गैर जिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै पूर्वाग्रहपूर्ण तरिकाबाट सिरोहियामाथि गरिएको हमला निन्दनीय भएको बताएका छन्। त्यस्तै नेता कोइरालाले संसदका महासचिव पदमप्रसाद पाण्डे दुईवटा नागरिकता र दुईवटा पासपोर्ट बोकेर हिँडिरहँदा पनि सरकार देखेको नदेखै गरिरहेको भन्दै उनीमाथि किन कारबाही हुँदैन ? भन्ने प्रश्न उठाएका छन्। विभेदकारी व्यवहार नदेखाउन सरकारलाई चेतावनी दिँदै डा.कोइरालाले गृहमन्त्री लामिछाने लगायत सत्ताको आडमा कुकृत्य गरिरहेका सबैको तथ्यलाई बाहिर ल्याउने पत्रकारको धर्ममा खुट्टा नकमाउन पत्रकारहरुलाई आग्रह पनि गरेका छन्। बिहीबार पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्।