निर्वाचन लक्षित ‘कल केपी बा’ कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग चार घण्टा टेलिफोन सम्वाद गर्नुभएको छ ।
कार्यक्रम सकिएलगत्तै ओलीले करिब चार घण्टा फोन सम्वाद गरेको र त्यसले आफूलाई उत्साहित बनाएको प्रतिक्रिया दिनुभएको छ । नाम टिपाएका सबैसँग कुरा गर्न नपाएको भन्दै उहाँले क्रमैसँग फोन गर्ने पनि बताउनुभएको छ ।
‘कल केपी बा कार्यक्रममा मैले करिब चार घन्टा टेलिफोन संवाद गरेँ । तपाईंहरुसँग भएका कुराकानीले म उत्साहित छु । दुई लाख नौ हजार एकसय १६ जनाले नाम टिपाउनु भएकोले मैले सबैसँग कुरा गर्न पाइनँ । म क्रमैसँग कुरा गर्दै जानेछु’, केपी शर्मा ओली नामको फेसबुक पेजमा लेखिएको छ ।
यसअघि ओलीले आफूसँग फोन सम्वाद गर्न चाहनेहरुलाई नाम र मोबाइल नम्बर टिपाउन फेसबुकबाटै सूचना गर्नुभएको थियो । हिजो दिउँसोसम्म नम्बर टिपाउने समय तोकिएको थियो । तीमध्ये गोला तानेर परेका नम्बरमा मात्रै अध्यक्ष ओलीले फोन गर्नुभएको हो ।