भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता।
कवि: मनु मन्जिल
कविता: एक बटुवाको गीत
स्रष्टाको संक्षिप्त परिचय :
२०२७ साल असार १५ गते काभ्रेको रमणीय गाउँ साल्मेमा पिता स्व. वासुदेव खुलाल र माता पद्मा कुमारीको कोखबाट जन्मनु भएका कवि मनु मन्जिलको बाल्यकाल पहाडी माटोको सुगन्ध र प्रकृतिको काखमा बितेको छ । त्यो बाल्यकालले नै उहाँको चेतनामा साहित्यको पहिलो बिउ रोपिदिएको पाइन्छ । त्रिभुवन विश्वविद्यालयबाट मानविकी (एम.ए.) र शिक्षाशास्त्र (बि.एड.) मा उच्च शिक्षा हासिल गर्नुभएका मन्जिलले ज्ञानको क्षितिजलाई फराकिलो बनाउँदै पेसागत रूपमा प्राध्यापन क्षेत्रलाई रोज्नु भयो। लामो समयदेखि नयाँ पुस्तालाई ज्ञान बाँड्दै आउनु भएका उहाँ प्राध्यापनसँगै नेपाली साहित्यको श्रीवृद्धिमा निरन्तर समर्पित हुनुहुन्छ।
मनु मन्जिल नेपाली कविता जगतमा एक फरक र शक्तिशाली पहिचान बोकेको विशिष्ट नाम हो । निबन्ध, गीत र अनुवादका क्षेत्रमा पनि उहाँको कलम कविता झै ओजपूर्ण ढङ्गले चलेको छ। विशेषगरी उहाँका कवितामा नवीन बिम्ब, दर्शन र मानवीय संवेदनाको गहिरो प्रभाव पाइन्छ।
आँधीको आवेग (कविता सङ्ग्रह, २०६२) नेपाली काव्यमा उहाँलाई एक शक्तिशाली कविका रूपमा स्थापित गराउने पहिलो कृति हो भने ल्याम्प-पोष्टबाट खसेको जून (कविता सङ्ग्रह, २०६७) आधुनिक जीवनका रिक्तता, प्रेम र युगीन चेतनालाई कलात्मक रूपमा प्रस्तुत गरिएको कालजयी सङ्ग्रह हो।
नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउन र विश्व साहित्यलाई नेपालीमा भित्र्याउन उहाँले The Full Moon at the Riverbank,Poems on the Hill,Sun- Shower र
Daughters of the Earth जस्ता चर्चित चारवटा महत्वपूर्ण अनुवाद कृतिहरू पाठकमाझ ल्याउनु भएको छ ।
कवि मन्जिल केवल एक सर्जक मात्र नभएर नेपाली साहित्यलाई संस्थागत रूपमा अगाडि बढाउने कुशल नेतृत्वकर्ता पनि हुनुहुन्छ। कला र साहित्यको प्रवर्द्धनका लागि विभिन्न संघ-संस्थाहरूको स्थापना र नेतृत्व गर्नु भएको छ उहाँ साहित्य-सञ्चार प्रतिष्ठानको अध्यक्ष, नयाँ र स्थापित लेखकहरूलाई जोड्ने माध्यमका रूपमा Writer’s Circl, स्थापना,
दक्षिण एसियाली देशहरूका लेखक र साहित्यकारहरूको साझा मञ्च FOSWAL (Nepal Chapter) मा नेपालको तर्फबाट सदस्यका रूपमा सक्रिय प्रतिनिधित्व र पछिल्लो समय कविताको मञ्चन, बहस र प्रवर्द्धनका लागि ‘काव्य-डबली’ को स्थापना गरी काव्यिक अभियानलाई नयाँ उचाइ दिने विशेष प्रयत्न गरिरहनु भएको छ।
मनु मन्जिलको काव्यिक उचाइ नेपालभित्र मात्र सीमित छैन, उहाँले अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत नेपाली कविताको प्रतिनिधित्व गरिसक्नु भएको छ भने अमेरिकाको लाइब्रेरी अफ कांग्रेसको स्थायी डिजिटल अभिलेखमा समेत भर्खरै वहाको कविता र आवाज समावेश गरिएको छ। सार्क साहित्य महोत्सव (SAARC Lit Fest) सन् २००८, २०१०, २०११ र २०१२ मा लगातार आमन्त्रित अतिथि वक्ता (Guest Speaker) का रूपमा सहभागी भई दक्षिण एसियाली मञ्चमा नेपाली पहिचान स्थापित गरिसक्नुभएका उहाँले नेपाल साहित्य महोत्सव: सन् २०११, २०१२, २०१४ र २०१५ मा अतिथि वक्ताका रूपमा सहभागी भई नेपाली वैचारिक र साहित्यिक विमर्शमा समेत महत्वपूर्ण योगदान पुर्याउनु भएको छ ।
साहित्यिक साधनामार्फत समाज र राष्ट्रलाई दिएको अद्वितीय योगदानको कदरस्वरूप उहाँलाई प्रतिभा पुरस्कार (२०६२),
सार्क युवा कवि पुरस्कार (२०६७) (अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान),जसराज किराँती काव्य प्रतिभा पुरस्कार (२०७३), ससिद्दी राष्ट्रिय कलाश्री पुरस्कार (२०७४) र शान्ति समाजसँग आबद्ध रही मानव अधिकार र शान्तिको पक्षमा साहित्यमार्फत वकालत गरेबापत राष्ट्रिय मानव अधिकार शान्ति समाज पुरस्कार (२०७७) बाट विभूषित गरिएको छ।
मनु मन्जिल नेपाली कविताका त्यस्ता साधक हुनुहुन्छ , जसका शब्दहरूमा जीवनको सुस्केरा, समाजको ऐना र दर्शनको गहिराइ भेटिन्छ। सरल स्वभाव, प्राध्यापकीय गरिमा र उच्च काव्यिक चेत भएका मन्जिल आजको पुस्ताका लागि एक प्रेरणाका स्रोत हुनुहुन्छ। उहाँका सिर्जनाहरूले नेपाली वाङ्मयको भण्डारलाई सधैं समृद्ध बनाइराख्नेछन्। यस्ता मुर्धन्य स्रष्टा कवि साहित्यकार मनु मन्जिललाई उच्च सम्मान र अभिनन्दन गर्दै ‘भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता’ श्रृङ्खलामा प्रस्तुत गरेका छौं । आदरणीय स्रष्टा मनु मन्जिलको सुस्वास्थ्य एवं दीर्घ जीवनको कामना गर्दछौं ।
भृकुटी न्यूज
साहित्य कला विभाग
काठमाडौँ ।