काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वीरगञ्जमा आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै केही स्वार्थीहरुले आफूलाई मधेश विरोधी भनेर हल्ला चलाएको आरोप लगाएका छन् ।
‘केही स्वार्थी हरुले केपी ओली मधेस विरोधी हो भनेर हल्ला चलाए, ६० वर्षदेखि म मधेसमा बसेको छु, इनार कसरी खन्नुपर्छ, चापाकल कसरी गाड्नुपर्छ भन्ने थाहा छ । राँगाको पिठ्युँमा बसेर भैंसी चराउनुपर्छ मलाई थाहा छ, हलो कसरी जोत्नुपर्छ मलाई थाहा छ’ भन्दै ओली कड्किए ।
आफुलाई मधेशबादी साबित गर्न ओलीले आफ्ना कामहरुको लस्कर नै लगाए उनले भने- मधेस विरोधी भन्नेहरुको सामुन्ने आफूले मधेसमा चौडा सडक र मधेसमै सिँचाइका लागि सुनकोशी मरिण डाइभर्सनको काम सुरु गरें । ‘पहिला ढल्केबरबाट मधेस प्रदेशको राजधानी जनकपुर जाँदा अढाइ घण्टा लाग्थ्यो । केपी ओली मधेस विरोधी भन्नेले भन्दै गरे मैले त्यहाँ त्यस्तो बाटो बनाईदिएँ, अहिले २० मिनेटमा ढल्केवरबाट जनकपुर पुग्छ मान्छे’।
ओलीले थपे, ‘सुनकोशी बन्द गरेर, बाँध बाँधेर, पहाड छेडेर टनेल बनाएर, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका १ लाख ८५ हजार खेत सिचाई गर्ने मरिण सुनकोशी डाइभर्सन आयोजना, आयोजनाको काम मैले सुरु गरेर काम भइराख्या छ ।’
‘तराईका खेत सिँचाइ गर्ने केपी ओली मधेस विरोधी, तराईका बाटा बनाउने, एयरपोर्ट बनाउने केपी ओली अनि मधेस विरोधी ? हल्ला चलाउनेहरुले चलाउँदै गर्छन् तपाईहरुलाई थाहा छदैछ’ उनले भने ।