ढिलो नगर

0

 

आफैँ विरुद्ध उजुरी हाल
तोड
कलिला बच्चाहरूसँग गरेको भविष्यको झुटो वाचा

आफ्नै आँखालाई झिरले घोच
बगाऊ
लाखौँको खुशी निचोरेर जम्मा पारेको झ्याली आँशु

च्यात भित्तामा झुण्डिएको आफ्नै तस्विर
देखाऊ
अनैतिक सम्बन्धपछि आफैँले खिचेको घिनलाग्दो मुस्कान

फुटाऊ ओठमा उम्लिदै गरेको नकच्चरो खुशी
गन
हरेक टुक्राहरूमा आफ्ना बेइमानीको हत्यारो बोली

विलासिताको उत्ताउलो सपना नपाल
फाल
बिपनामा हजारौँको निन्द्रा विथोलेर लुटेको थिल्थिलो पदक

बाटाको बिचमा आफ्नै सकल बोकेको टाउको राख
खिच
नाङ्गा पैतालाहरूले थिच्दै – थुक्दै हिँडेको आफ्नै तिरस्कृत तस्विर

लगाऊ
आफ्नै खुनी हातमा हतकडी
उभ्याऊ
आफ्नै जाली हस्ताक्षरले गर्दा मरेका लासहरूको कठघरामा आफूलाई

गर
भष्म आफ्नै अपराधको तमसुक
ताप
आफ्नै घमण्डी चिता जलेको भर्भराउँदो आगो

आजको घडीलाई आजकै मितिमा रोक
पछुताऊ
पछुताउनु भनेको पाठ सिक्नु हो।
पछुताउनु भनेको परिवर्तन हुनु हो।
ढिलो नगर।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here