काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेका छन् । काठमाडौँ जिल्ला अदालत परिसरमा त्रिपाठीमाथि रास्वपा कार्यकर्ताहरूले आक्रमण गरेका हुन् ।
बुधवार रवि लामिछानेमाथिको मुद्दामा बहस सकिएपछि बाहिर निस्कने क्रममा उनीहरूले त्रिपाठीमाथि आक्रमण गरेका थिए। त्रिपाठीले स्वर्णलक्ष्मी सहकारी पीडितका तर्फबाट बहस गरेका थिए । पीडितको पक्षमा लागेर रवि लामिछाने विरुद्ध किन बहस गरेको ? भन्दै उनीहरूले अश्लिल शब्द प्रयोग गरी त्रिपाठीमाथि हमला गरेका थिए। पत्रकार र सुरक्षा निकायको बाक्लो उपस्थितिकै बीच रास्वपाका कार्यकर्ताले गरेको यस्तो घृणित र निन्दनीय कार्यको अहिले सर्वत्र विरोध भइरहेको छ । कुनै थप अप्रिय घटना नभए पनि रास्वपा कार्यकर्ताको यस्तो उदण्ड कार्यलाई सामान्य रुपमा लिन नसकिने भन्दै घटनामा संलग्न मानिसहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।