भृकुटी न्यूज, काठमाडौँ। मनोहरा साहित्य समाजको चौथो वार्षिक साधारण सभा तथा ११५औँ रचना वाचन शृङ्खला भव्य रूपमा सम्पन्न भएको छ। साधारण सभाले आगामी वर्षका नीति तथा कार्यक्रमहरू पारित गर्नुका साथै नयाँ कार्यसमिति समेत चयन गरेको छ।
संस्थाका अध्यक्ष डिल्लीराज अर्यालको सभानायकत्व, प्रा. डा. शालिकराम कोइरालाको प्रमुख आतिथ्य तथा प्राचार्य मातृका कार्कीको विशिष्ट आतिथ्यमा सम्पन्न सो साधारण सभाले प्रस्तुत आर्थिक एवं आगामी कार्यक्रम सम्बन्धी प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको हो।
डिल्लीराज अर्यालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति
साधारण सभाले डिल्लीराज अर्यालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा डा. चिरञ्जीवी रेग्मी, सचिवमा भावकेशर बराल र कोषाध्यक्षमा सम्पत् काफ्ले चयन हुनुभएको छ।
यस्तै सदस्यहरूमा खोलाघरे साहिँलो, केशव ज्ञवाली, सुमन पुडासैनी, अप्सरा पोखरेल, भावना न्यौपाने र सरिता तिमल्सिना रहनुभएको छ। निर्वाचन समितिका संयोजक खोदनाथ चापागाईँका अनुसार नयाँ कार्यसमितिको चयन पूर्ण रूपमा सर्वसम्मत भएको हो। यसअघि चापागाईँको संयोजकत्वमा जसध्वज गुरुङ र छत्रभूषण दाहाल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो।
११५औँ रचना वाचन शृङ्खला र बधाई ज्ञापन

साधारण सभाको समापनलगत्तै नवनिर्वाचित अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा संस्थाको ११५औँ रचना वाचन शृङ्खला प्रारम्भ भएको थियो। सचिव भावकेशर बरालद्वारा सञ्चालित उक्त कार्यक्रम डा. शैलेन्दु नेपालको प्रमुख आतिथ्य एवं कविराज घिमिरे र आर. सी. रिजालको विशिष्ट आतिथ्यमा सम्पन्न भयो।
अध्यक्ष डिल्लीराज अर्यालको स्वागत मन्तव्य तथा काव्य रचना प्रस्तुतिका साथ सुरु भएको शृङ्खलामा देवमणि गुरागाईँ, सञ्जय सोती, दुर्गा घिमिरे, टीका मिलन, सूर्यप्रसाद डुम्रे, भावना न्यौपाने, भुवन शिवाकोटी, अप्सरा पोखरेल, अमर कीर्तिमानी, जसध्वज गुरुङ, केशव ज्ञवाली, रत्न विरही घिमिरे, सरिता घिमिरे, चिरञ्जीवी सिक्देल, सावित्री न्यौपाने, उषा वस्ताकोटी खनाल, सिकारू राम, ब्रह्मप्रिय प्रेमस्वरूप, एम. के. पराशर, छविलाल अधिकारी, चेवन बस्नेत, चूडाप्रसाद चौलागाईँ, रामकुमार पण्डित, मुकुन्दराज शिवाकोटी, पदम दाहाल, प्रमुना पौडेल, सीता आस्था ढुङ्गेल, दीपक ओली, आल्फीफोहेन फाक्लुप्पा, एम. पी. पाण्डे, प्रिन्स प्रमोद, लीलाराज दाहाल, हेमन्त निरौला र सम्पत् काफ्ले लगायत तीन दर्जनभन्दा बढी स्रष्टाहरूले आ-आफ्ना उत्कृष्ट रचनाहरू वाचन गर्नुभएको थियो।
सोही अवसरमा स्रष्टाहरू सरिता तिमल्सिना, कृष्णबहादुर खड्का, पदम दाहाल, दुर्गा घिमिरे र सीता आस्था ढुङ्गेल लगायतले संस्थाको आजीवन सदस्यता ग्रहण गर्नुभएको थियो।
कार्यक्रममा शीतल गिरी, कविराज घिमिरे र आर. सी. रिजालले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै संस्थाको सफलताको शुभकामना व्यक्त गर्नुभयो। अन्त्यमा प्रमुख अतिथि डा. शैलेन्दु नेपालले साहित्य र विशेष गरी कविताको महत्त्वबारे चर्चा गर्दै मनोहरा साहित्य समाजको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएपछि कार्यक्रम विसर्जन गरिएको थियो। कार्यक्रममा ठुलो सङ्ख्यामा श्रोता तथा सर्जकहरूको उपस्थिति रहेको थियो।