काठमाडौं उपत्यकाको जीवनरेखाको रुपमा रहेको बागमती नदी आज आफ्नो अस्तित्वको लागि संघर्ष गरिरहेको छ। ढलको दुर्गन्धले भरिएको पानी बग्ने बागमतीको किनारमा उभिएर यसको इतिहास र वर्तमानलाई नियाल्दा मनमा अनेक प्रश्न उठ्छन्। बागमती सफाइ महाअभियान सुरु भएको आज ५५० साता पुगेको छ । वि.सं. २०७० जेठ ५ गतेदेखि ‘राष्ट्रका नाममा हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने मूलनाराका साथ सुरुगरिएको नेपालको सबैभन्दा ठूलो र लामो स्वयंसेवी महाअभियान हो बागमती सफाई अभियान। यो अभियान सञ्चालनसँगै भएका चर्चा, प्रयोग भएको राज्यकोष र ५५० साताको समय हेर्ने हो भने बागमती विश्वकै सुन्दर नदी भइसक्नु पर्ने हो तर बागमतीको हालत झनै दर्दनाक र कारुणिक बन्दै गएको देखिन्छ। के बागमतीको सरसफाई एउटा चटक मात्र हो? पशुपतिनाथ र बागमतीका नाममा राजनीति गर्नेहरुले यसको महत्वलाई कति बुझेका छन्?
बागमतीको इतिहास केलाउँदा यो नदी सभ्यताको प्रतीकको रूपमा बगेको पाइन्छ। तर आज, यही नदीलाई ढलको थुप्रोमा परिणत गराएर सरसफाईको चटक गर्नेहरूको चरित्र र सरसफाइको नाममा भएको राज्य कोषको दोहन देख्दा लाग्छ हामी सबै कुराले समाप्तिको बाटोमा छौं र चाँडै यो सभ्यता नराम्रो सँग ढल्दैछ । बागमती प्रदुषित हुनुको कारण अव्यवस्थित शहरीकरण र बढ्दो जनसंख्या हो कि उपत्यकाको ढल सिधै बागमतीमा मिसाइ दिने स्थानीय निकाय र राज्यको नीति चाहिँ प्रमुख कारण हो ? भन्ने मै ठूलो दुविधा रहेको देखिन्छ। जसले गर्दा नदीको पानी प्रदूषित बनेको छ। अब बागमतीको सिर देखि पाउसम्म ढल लगेर मिसाउनेहरु र टाउकामा फोहोर हालेर खुट्टामा सरसफाइको चटक गरेर आफ्नो जीवन धान्नेहरुले यसको समग्र जवाफ दिनु पर्ने समय आएको छ।
पहिलो जवाफ माग्ने काम पशुपतिनाथ क्षेत्र परिसरबाटै बागमतीमा ढल खसाल्ने काठमाण्डौं वार्डनं ४,५,६,७, र ८ बाट सुरु गर्नु पर्ने देखिन्छ भने दोस्रो उपत्यकाका समग्र स्थानीय सरकार, सरसफाइको भूमिकामा देखिएका संयन्त्र, संस्कृतिमन्त्रालय र समग्र राज्यनै यसको दोषका भागेदार हुने निश्चित छ।
१) बागमती सरसफाईको नाममा प्रयोग भएको राज्यकोषको स्थिति:
बागमती सरसफाईका नाममा राज्यकोषबाट भएको खर्च हेर्नेहो भने एकपटक सबैको होस गुम हुने स्थिति छ। अहिले सम्म २९ वर्षमा यो शीर्षकमा २१ अर्बभन्दा बढी रकम खर्च गरिएको छ यति खर्च गरेर पनि बागमती नदी सफा गर्न नसकेको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले उल्टै थप २० वर्षे कार्ययोजना तयार पार्दै २०८० देखि २१०० सम्मको बागमती कार्ययोजना कार्यान्वयनमा दुई खर्ब ७९ अर्ब ६० करोड ५० लाख रुपैयाँ खर्च हुने प्रस्ताव गरेको छ र यो रकम एसियाली विकास बैंक (एडिबी) बाट सहुलियत ऋणबाट जुटाउने प्रस्तावमा उल्लेख छ । २० वर्षे कार्ययोजनाभित्र बागमती नदीको दोहन रोक्ने र सङ्लो पानी बगाउने, बागमती र अन्य सहायक नदी व्यवस्थापन गर्ने, शिवपुरी जलाधार क्षेत्रमै रहेको नागमती धाप ड्याम निर्माण गर्नेलगायतका कार्यक्रम छन् । यसैगरी यस कार्ययोजनामा संघीय, प्रादेशिक र स्थानीय सरकारबीच नदी व्यवस्थापनको सहजीकरण गर्ने, बागमती नदी क्षेत्रको व्यवस्थापनका लागि विदेशी तथा स्थानीय लगानी बढाउने र अतिक्रमित घरटहरा हटाएर बागमतीका सबै क्षेत्रमा हराभरा बनाउनेलगायतका योजना छन् ।
कागजमा योजना हेर्दा यस्तो देखिन्छ कि स्वर्गका राजा ईन्द्रले आफ्नो डेरा नै मगमतीमा सार्ने योजना बनाइरहेका होलान तर व्यवहारमा २१ अर्व खर्च भइसकेको बागमतीको अनुहारलेनै उनीहरूको मखुण्डो उतारिदिएको छ।
२) बागमती सरसफाइमा आवद्ध संघ संस्थाहरु :
बागमती सरसफाई अभियानमा सरकारी र गैह्र सरकारी दुवै थरी संघ संस्थाहरुको सहभागिता रहि आएको छ जसमध्ये केही प्रमुख संस्थाहरु
क) अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति: यो सरकारी संस्था हो जसले बागमती नदीको सरसफाईको लागि काम गर्दछ।
ख) बागमती सरसफाई महाअभियान: यो नागरिकस्तरको अभियान हो, जसले प्रत्येक शनिबार बागमती नदीको सरसफाई गर्दछ।
ग) अन्य संघ संस्था र समूहहरू: बागमती सरसफाईमा थुप्रै अन्य संघ संस्था र समूहहरू पनि क्रियाशील छन्।
३) सरसफाइ अभियान प्रभावकारी हुन नसक्नुका कारणहरु :
बागमती सरसफाईको नाममा विभिन्न सफाई अभियान चलाइए पनि ती प्रभावकारी हुन सकेका छैनन् राज्यको अरबौं खर्च भइसक्दा पनि नदीको अवस्थामा सुधार आएको छैन। यसको मुख्य कारण के हो ?
क) गैह्र जिम्मेवार स्थानीय जनप्रतिनिधिहरु : जसले स्थानीय सरकार सञ्चालनको नेत्रित्व गरेका छन् तिनीहरूले नै योजनाबद्ध रुपमा बागमतीमा शहरको ढल मिसाउने सरकारी कुकर्मकमा सहभागी र मतियार बनेका छन् ।
ख) सरसफाईको नाममा अनियमितता: बागमती सरसफाईको नाममा विभिन्न संघसंस्थालाई राज्यकोषबाट ठुलो रकम उपलब्ध गराईएको छ। तर, सो रकमको सदुपयोग भएको छैन। सरसफाईको काम प्रभावकारी नभएको र रकम हिनामिना भएको आरोप लागेको छ।
ग) योजना कार्यान्वयनमा कमजोरी: बागमती सरसफाईका लागि विभिन्न योजना बनेका छन्। तर, ती योजनाहरुको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। जसका कारण सरसफाईको कामले गति लिन सकेको छैन।
घ) राजनीतिकरण: बागमती सरसफाईको काममा राजनीतिकरण भएको छ। विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुले सरसफाईको नाममा रकम दुरुपयोग गरेको आरोप लागेको छ। जसका कारण वास्तविक काम ओझेलमा परेको छ।
ङ) अनुगमनको अभाव: बागमती सरसफाईको कामको प्रभावकारी अनुगमन हुन सकेको छैन। जसका कारण अनियमितता गर्नेहरुको मनोबल बढेको छ।
च) पारदर्शिताको कमी: बागमती सरसफाईको काममा पारदर्शिताको कमी छ। कुन कामको लागि कति रकम खर्च भयो भन्ने कुराको जानकारी आम नागरिकलाई उपलब्ध गराईएको छैन। जसका कारण अनियमितता गर्नेहरुलाई थप बल मिलेको छ।
४) निष्कर्ष:
पशुपतिनाथ, हिन्दु धर्मावलम्बीहरुको पवित्र स्थल, बागमतीको किनारमा अवस्थित छ। बागमतीको दूषित पानीले पशुपतिनाथको धार्मिक महत्वलाई पनि असर पारेको छ। तर, बागमती नदी र पशुपतिनाथको नाममा राजनीति गर्नेहरुले यसको संरक्षणमा ध्यान दिएका छैनन्। उनीहरुको लागि यो एउटा राजनीतिक मुद्दा र दुहुनु गाई मात्र बनेको छ।
बागमतीलाई सफा बनाउनको लागि ठोस कदम चाल्नु जरुरी छ। यसको लागि सरकार, स्थानीय निकाय र जनता सबैको सहभागिता आवश्यक छ। ढल व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्छ र नदीमा फोहोर फाल्ने कार्यलाई रोक्नुपर्छ।
बागमतीको सरसफाई एउटा चुनौती हो, तर असम्भव भने होइन। यदि हामी सबै एकजुट भएर लाग्यौं भने बागमतीलाई पुरानै अवस्थामा फर्काउन सक्छौं। तर यसका लागि बलियो नागरिक सचेतना, राजनीतिक इच्छाशक्ति र पारदर्शिताको खाँचो रहेको देखिन्छ ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी