केबलकारको भ्रम, पाथिभराको परम्परा र हाम्रो दायित्व

0

अहिले मूकुमलुङ अर्थात पाथीभरा देवीको मन्दिर क्षेत्रमा केबलकार राख्नु हुन्छ कि हुँदैन भन्ने सवाल पेचिलो रुपमा उठेको छ। जनताको ब्यापक असन्तुष्टिका बीच जबरजस्ती केवलकार निर्माण गर्ने कुराले अहिले आन्दोलन र हिंसाको रूप लिएको छ । ताप्लेजुङमा केबलकार राख्ने कुराको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा गोली चलेको र मान्छेहरु समेत घाइते भएको घट्ना सेलाउन नपाउँदै अहिले झापाको दमकमा गोली चलेको छ र मानिसहरू घाइते भएको भन्ने अपुष्ट खबर सञ्चार माध्यमहरुमा आइरहेको छ। यो स्पष्ट हो कि मुकुम्लुङ् अर्थात पाथीभराको ठूलो धार्मिक र सांस्कृतिक महत्व छ। लाखौं लाख मानिसहरूले यहाँ आफ्नो मनोकामना पूरा गर्नको लागि पूजा आजा गर्छन्। पाथीभरा देवीलाई विशेष गरी शक्ति, समृद्धि र सुरक्षाकी देवीको रूपमा पुजिन्छ। यहाँ बलि चढाउने र भाकल गर्ने सम्मको ऐतिहासिक प्रचलन पनि छ।
यस्ता धार्मिक स्थलहरू हाम्रो सांस्कृतिक र आध्यात्मिक धरोहर हुन्। यी स्थलहरूको भ्रमणले मनमा शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्दछ। तर, पछिल्लो समय धार्मिक स्थलहरूमा केबलकार निर्माण गर्ने प्रचलन बढ्दो छ। केबलकार निर्माणलाई विकासको प्रतीकको रूपमा हेर्नुभन्दा पनि यसले धार्मिक र सांस्कृतिक मूल्यमान्यतामा कस्तो असर पार्छ भन्ने कुरामा ध्यान दिनु आवश्यक छ।
केबलकार निर्माणका सकारात्मक पक्षहरू पनि छन्। यसले वृद्ध, अशक्त र शारीरिक रूपमा कमजोर व्यक्तिहरूलाई कुनै स्थलसम्म पुग्न सहज बनाउँछ। यसले पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्‍याउँछ। तर यो सहज हुन्छ भन्ने नाममा धार्मिक आस्था र सांस्कृतिक मूल्यमा फेरबदल ल्याउने खालका गम्भीर गल्तीमा कोही कसैले लाग्नु सर्वथा अनुचित छ । कतिपय पर्यटकीय क्षेत्रमा केवलकार राख्नु उपयुक्त पनि होला तर धार्मिक र सांस्कृतिक आस्था जोडिएका सबै स्थलमा केवलकार उपयुक्त हुन्छ भन्ने छैन। सहजता र सरलताका व्याख्यामा केबलकार जस्तो सकारात्मक सुनिन्छ मुकुम्लुङ्ग अर्थात् पाथीभरा मन्दिरमा यो त्यतिनै अप्रिय र नकारात्मक रुपमा देखा परेको छ । धार्मिक आस्था जोडिएको क्षेत्रमा केवलकार चलाउन पाउँदा केवलकार व्यापारी र त्यसका मतियारलाई मालामाल हुने बाटो त खुल्ला तर धार्मिक र साँस्कृतिक महत्वको ऐतिहासिक परम्परालाई यसले अस्वीकार गरेको हुन्छ। जब यो अस्तित्वको सवाल बन्दछ तब त्यसले भयानक रूप ग्रहण गर्दछ आज पाथीभरामा केवलकार राख्ने कुराले लगभग यो भयानक बाटोमा प्रवेश गरेको स्थिति छ ।
धार्मिक स्थलहरूमा कुनै पनि खाले निर्माण कार्य गर्नु पर्दा सबै भन्दा पहिले त्यहाँको परम्परालाई राम्रो सँग बुझ्नु पर्दछ । आज पाथीभरा मन्दिरमा व्यापार खेल्ने सपना बनाउने व्यापारी र व्यापारीका मतियारहरुले केबलकारको योजना बनाउँदै गर्दा पाथिभराको परम्परामा अलिकति पनि ध्यान नदिएकै कारण स्थिति जटिल बनेको देखिन्छ ।
के हो पाथीभराको परम्परा?
मुख्यतया पाथीभराको परम्परा तान्त्रिक शक्ति र देवी शक्तिको आराधना क्षेत्र हो । पाथिभरा मन्दिरको गर्भगृह मात्र होइन पाथिभरा आसपासको क्षेत्र नै देवी शक्तिको तन्त्रमय उर्जामा रहेको छ भन्ने धार्मिक विश्वास रहेको छ । त्यही कारण पाथिभरा देवीको मन्दिर रहेको पर्वतका सबै प्राकृतिक वनस्पति र जङ्गल क्षेत्रमा रहेका प्राणीलाई ईश्वरीय आँखाबाट हेरिनुका साथै फेदीबाट नै पैदल हिँडेर गर्भगृह सम्म पुगेर दर्शन गर्न सक्ने की नसक्ने भन्ने कुराबाट दैवीक ऊर्जा मापन हुने ऐतिहासिक परम्परा र विश्वास रहिआएको छ । यही परम्परा र विश्वासका आधारमा पनि मुकुमलुङ् अर्थात् पाथिभरा मन्दिरमा केवलकार हाल्ने कुरा संभव देखिँदैन ।
वातावरणीय सवाल:
केबलकार बनाउने कुराले प्राकृतिक सौन्दर्य नष्ट हुन्छ। केबलकारका खम्बा र अन्य संरचनाहरूले वातावरणलाई प्रदूषित पार्छन्। यसले धार्मिक स्थलको पवित्रतालाई पनि असर गर्छ। केबलकार निर्माणले धार्मिक स्थलको मौलिकतालाई पनि नष्ट गर्छ।
धार्मिक स्थलहरूमा केबलकार निर्माण गर्नुको सट्टा अन्य विकल्पहरूमा पनि विचार गर्न सकिन्छ। जस्तै, सडकको स्तरोन्नति गर्ने, बस सेवा सुचारु गर्ने, र पदयात्रा मार्गको विकास गर्ने। यी विकल्पहरूले वातावरणलाई कम असर गर्छन् र धार्मिक स्थलको मौलिकतालाई पनि जोगाउँछन्।
अन्तमा, धार्मिक स्थलहरू हाम्रो अमूल्य निधि हुन्। यिनीहरूको संरक्षण गर्नु हाम्रो कर्तव्य हो। केबलकार निर्माण गर्ने कि नगर्ने भन्ने कुरामा सम्बन्धित निकायहरूले गम्भीरतापूर्वक विचार गर्नुपर्छ। धार्मिक स्थलको पवित्रता र मौलिकतालाई जोगाउनु हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here