२० भदौ,काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने नुवाकोटका श्याम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रवादी अभियन्ताको दावी गर्ने सापकोटाले आज दिउँसो भृकुटीमण्डपमा यादवमाथि खुकुरी प्रहार गरेका थिए । प्रहरीले उनलाई घट्नास्थलबाटै पक्राउ गरेको छ ।
कार्यक्रममा सहभागी भएका सापकोटाले त्यहाँबाट निस्कँदै गर्दा यादवलाई ताकेर खुकुरी हानेका हुन् । काँग्रेस सहमहामन्त्री यादव सो कार्यक्रममा वक्ता थिए ।
खुकुरी प्रहारपछि उनले एमसीसीको विरोध गर्दै चर्को नाराबाजीसमेत गरेका थिए । खुकुरीसहित समातिएका उनले ’एमसीसी खारेज गर’, ‘ले ले जनता खुकुरी ले, देशद्रोही आतंककारीलाई छप्काइदे’, जस्ता नारा लगाएका थिए ।
प्रहरीका अनुसार खुकुरी प्रहारबाट यादवको घाँटीमा गहिरो चोट लागेको छ । अहिले उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने व्यक्तिलाई प्रहरी वृत्त सिंहदरबार लगिएको छ ।