१७ जेष्ठ ,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै आलोचना बढेको छ ।
राष्ट्रपति कार्यालयको विज्ञप्तिमा नेपाल सरकार मन्त्रिपरिषदको निर्णय र पत्रबमोजिम प्रमाणीकरण गरिएको भनिएको छ ।
यो आफैंमा त्रुटिपूर्ण रहेको विज्ञहरु बताउँछन् । कुनै पनि विधेयक प्रमाणीकरणका लागि सरकारले होइन संसदले पठाउने हो । जुन सदनमा उत्पति भएको हो सोही सदनका सभामुख वा अध्यक्षले प्रमाणिकरणको लागि पठाउनुपर्ने व्यवस्था छ तर यो विधेयकबारे वर्तमान संसद र सभामुख बेखबर छन् । अघिल्लो सदनको बैधानिकता सकिएसँगै स्वतह निष्क्रिय भएको विधेयकलाई वर्तमान सरकारको असंवैधानिक सिफारिसमा राष्ट्रपतिले ल्याप्चे ठोक्नु गम्भीर रहेको संविधानका विज्ञहरुले बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजबाट भारतको चार दिने औपचारिक भ्रमणमा जाँदैछन । प्रधानमन्त्रीको भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणीकरण हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।