भृकुटी न्यूज, काठमाडौँ, असार २५ गते । कर्मचारी सरुवामा भनसुन र पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरुवा हुने परम्परा अब अन्त्य भएको छ । लामो समयदेखि झाँगिँदै आएको सरुवाको बेथिति नियन्त्रण गर्न सरकारले सरुवा प्रक्रियालाई पूर्ण रूपमा प्रविधिमैत्री बनाएसँगै पहुँचका भरमा हुने कर्मचारी सरुवाको परम्परा अन्त्य भएको हो ।
निश्चित अवधि पुगेपछि अनलाइन प्रणालीले नै कर्मचारीको सरुवा गर्नेबारे अवगत गराउने गर्छ, जसले गर्दा दबाब र प्रभावका आधारमा अवधि नपुग्दै कर्मचारी सरुवा गर्ने अभ्यास अहिले पूर्णत बन्द भएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत सातादेखि कार्यान्वयनमा ल्याएको डिजिटल सरुवा प्रणाली कार्यान्वयनमा आएसँगै अहिले भनसुन र पहुँचका भरमा हुँदै आएको कर्मचारी सरुवा प्रणालीको अन्त्य भएको हो ।
सरकारले कार्यान्वयनमा ल्याएको शासकीय सुधार अन्तर्गत एक सय कार्यसूचीमा कर्मचारी सरुवा प्रणालीलाई प्रविधिमैत्री बनाउने उल्लेख भए अनुसार मन्त्रालयले कर्मचारी सरुवा प्रणालीलाई सफ्टवेयरको माध्यमबाट अनलाइन सरुवा प्रणाली कार्यान्वयनमा ल्याएको मन्त्रालयले जनाएको छ ।