भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता
कवि: मणि लोहनी
कविता: धर्मध्वनि
संक्षिप्त परिचय: तीन दशकदेखि निरन्तर साहित्य साधना गरिरहनु भएका मणि लोहनी नेपाली साहित्यको आकाशमा आफ्ना जीवन्त कथा र मर्मस्पर्शी कवितामार्फत विशेष पहिचान बनाउन सफल हुनुहुन्छ। उहाँको सिर्जनात्मक यात्रा सौन्दर्य, दर्शन र मानवीय संवेदनाले भरिपूर्ण छ । पेसाले टेलिभिजन पत्रकारिताको भागदौडपूर्ण जीवनमा व्यस्त रहे पनि उहाँ सधैँ साहित्य लेखनमा सक्रिय हुनुहुन्छ ।
वि.सं. २०३२ साल भदौ २१ गते नुवाकोटको उर्वर भूमिमा जन्मनु भएका लोहनीका रचनाहरूमा जीवनका विविध आयामहरूको सुन्दर सङ्गम पाइन्छ । विशेष गरी प्रेम, जीवनका उकाली-ओराली र मानिसका जटिल सम्बन्धहरूलाई आफ्नो कलमको मुख्य विषय बनाउने लोहनीसँग गहनतम दर्शनलाई पनि सरल र सरस शब्दहरूमा ढाल्न सक्ने लोभलाग्दो सामर्थ्य छ । उहाँका शब्दहरू जटिल छैनन्, तर तिनले पाठकको हृदयमा पार्ने प्रभाव भने निकै गहिरो र दीर्घकालीन हुन्छ।
साहित्यिक यात्राका दौरान कथा र कविता गरी उहाँका सात वटा उत्कृष्ट कृतिहरू प्रकाशित भइसकेका छन्। वि.सं. २०६१ सालमा प्रकाशित ‘मलामी साँझ’ कवितासङ्ग्रहबाट औपचारिक रूपमा नेपाली कविताको मैदानमा आफ्नो प्रभावशाली उपस्थिति जनाउनु भएका लोहनीका २०६७ को ‘परास्त प्रेम’ र २०६९ को ‘निर्वस्त्र मन’ चर्चित कथासङ्ग्रहहरू हुन्। यी कथाहरूले नेपाली समाजको यथार्थ र मानवीय मनको सूक्ष्म मनोविज्ञानलाई कलात्मक ढङ्गमा प्रस्तुत गरेका छन्। यस्तै, वि.सं. २०७६ मा प्रकाशित उहाँको ‘मृत्युको अघिल्तिर’ कवितासङ्ग्रहले साहित्य क्षेत्रको प्रतिष्ठित ‘उत्कृष्ट सिर्जना पुरस्कार’ प्राप्त गरी उहाँको काव्यिक उचाइलाई अझ उकासेको छ।
उहाँको निरन्तरको उत्कृष्ट साधना र नेपाली साहित्यमा दिएको अतुलनीय योगदानको कदर गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरू प्रदान गरिएको छ। उहाँले भानुमोती पुरस्कार, बिसाप पुरस्कार, सर्वोत्कृष्ट कथा पुरस्कार, युवावर्ष मोती पुरस्कार, सतीशचन्द्र अतुल स्मृति युवा सम्मान, दीपज्योति सम्मान, ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार, बनिताश्री व्यथित काव्य पुरस्कार, संसाक कथा पुरस्कार, जनमत जनक प्रधान सेवा सम्मान तथा व्यथित काव्य सम्मान जस्ता दर्जनौँ मानसम्मान र पुरस्कारहरू प्राप्त गरिसक्नु भएको छ।
लोहनीको सिर्जनात्मक सामर्थ्य नेपालको सिमानाभित्र मात्र सीमित छैन। उहाँका कथा र कविताहरू जापानी, कोरियाली, हिन्दी, रुसी, फ्रेन्च र चिनियाँ जस्ता विश्वका अनेकौँ भाषामा अनूदित भई अन्तर्राष्ट्रिय स्तरमा समेत पढिने र सराहना गरिने गरिएका छन्। यसका साथै, नयाँ पुस्तालाई साहित्यिक चेतना र मानवीय मूल्य-मान्यता सिकाउनका लागि उहाँका रचनाहरू विद्यालयस्तरका पाठ्यक्रममा समेत समावेश गरिएका छन्। पत्रकारिताको व्यस्तताका बिच पनि साहित्यलाई आत्मा मानेर निरन्तर कलम चलाइरहने मणि लोहनी नेपाली भाषा-साहित्यका एक अमूल्य र प्रेरणादायी नक्षत्र हुनुहुन्छ । यस्ता मुर्धन्य स्रष्टा मणि लोहनीको उच्च सम्मान सहित “भृकुटी न्यूज: शनिबार सहित्यमा आजको कविता” श्रृङ्खलामा प्रस्तुत गरेका छौं। उहाँको सुस्वास्थ्य एवं दीर्घ जीवनको कामना गर्दछौं।
भृकुटी न्यूज
साहित्य कला विभाग
काठमाडौँ ।