भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर
साहित्यकार: माया ठकुरी 
संक्षिप्त परिचय:
नेपाली कथा साहित्यको फाँटमा माया ठकुरी एउटा यस्तो नाम हो, जसले आफ्ना मर्मस्पर्शी शब्दशिल्पमार्फत नेपाली साहित्यलाई नयाँ उचाइ र जीवन्तता प्रदान गर्नुभएको छ । वि.सं. २००४ (सन् १९४८) मा भारतमा जन्मिनुभएकी ठकुरीले बाल्यकालदेखि नै अक्षरहरूसँग गहिरो नाता गाँस्नुभएको थियो। प्रवासको माटोमा पल्लवित भएको उहाँको साहित्यिक सिर्जनशीलता नेपाल आगमनपछि अझ सशक्त, परिपक्व र व्यापक बनेर पोखिएको पाइन्छ।
नेपाली साहित्य-आकाशमा अग्रणी नारी हस्ताक्षरका रूपमा स्थापित माया ठकुरीका कथामा समाजको यथार्थ ऐना झैँ प्रतिबिम्बित हुन्छ । उहाँका रचनाहरूमा विशेष
सामाजिक यथार्थवाद, उन्नत नारी चेतना ,सूक्ष्म मनोवैज्ञानिक विश्लेषण र सरल एवम् मार्मिक भाषाशैली जस्ता प्रवृति पाइन्छ । आफ्नो दीर्घ साधनाका क्रममा उहाँले नेपाली कथा साहित्यलाई धेरै कालजयी कृतिहरू उपहार दिनुभएको छ। उहाँका दर्जनौं पुस्तक प्रकाशित छन् । उहाँका सिर्जनाहरूको साहित्यिक मूल्यकै कारण कतिपय उत्कृष्ट कथाहरू विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रमहरूमा समेत समावेश गरिएका छन्। नेपाल प्रज्ञा-प्रतिष्ठानको पूर्वसदस्यका रूपमा समेत रहेर नीतिगत एवम् संस्थागत योगदान पुर्याउनुभएकी ठकुरीलाई नेपाली भाषा र साहित्यप्रतिको अतुलनीय सेवाका लागि ‘मैना पुरस्कार’, ‘रत्नश्री स्वर्ण पदक’, ‘दीप स्मृति पुरस्कार’ र ‘कुमारप्रसाद-देवकुमारी रिमाल पुरस्कार’ जस्ता प्रतिष्ठित मान-सम्मान तथा राष्ट्रिय पदकहरूबाट विभूषित गरिएको छ।
संक्षेपमा भन्नुपर्दा, माया ठकुरी आधुनिक नेपाली कथा साहित्यकी एक शीर्षस्थ र आदरणीय कथाकार हुनुहुन्छ। मानवीय संवेदनाका सूक्ष्म तन्तुहरूलाई समातेर सामाजिक यथार्थको मौलिक स्वरूप पस्कने उहाँको विलक्षण क्षमताले नेपाली साहित्यको श्रीवृद्धिमा अमूल्य योगदान पुर्याएको छ। यस्ता मुर्धन एवं अग्रज स्रष्टा माया ठकुरीको उच्च सम्मान गर्दै “भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर” श्रृङ्खलामा उहाँको यो तस्बिर प्रकाशित गरेका छौं। आदरणीय साहित्यकार माया ठकुरीको सुस्वास्थ्य एवं दीर्घ जीवनको कामना गर्दछौं।
भृकुटी न्यूज
साहित्य कला विभाग
काठमाडौँ ।