- इरान-अमेरिका द्वन्द्वले के देखाउँछ भने मध्यपूर्वमा कूटनीतिक संवादका पुराना संयन्त्रहरू पूर्ण रूपमा असफल भइसकेका छन्।
- बदलिँदो परिस्थितिमा नेपालको कूटनीतिक संवेदनशीलता झन् चुलिएको छ।
- विश्वव्यापी शक्तिको केन्द्र अहिले इन्डो-प्यासिफिक (हिन्द-प्रशान्त) क्षेत्रमा केन्द्रित भएसँगै दक्षिण एसिया भू-राजनीतिको मुख्य रंगमञ्च बनेको छ।
– ज्योतिकिरण
एक्काइसौँ शताब्दीको तेस्रो दशक पार गर्दै गर्दा वर्तमान विश्व, इतिहासकै सबैभन्दा जटिल र रूपान्तरणकारी भू-राजनीतिक मोडमा आइपुगेको छ। शीतयुद्धको अन्त्यपछि स्थापित अमेरिकी एकध्रुवीय विश्व व्यवस्था भत्किँदै र बहुध्रुवीयताको नयाँ खाका कोरिने क्रम तीव्र बनेको छ। मध्यपूर्वमा भड्किएको युद्धको आगो, पूर्वी युरोपमा लम्बिएको सैन्य टकराव, प्रशान्त महासागरमा चलिरहेको शीतकालीन आर्थिक टक्कर र नयाँ शक्तिहरूको उदयले विश्व परिस्थितिलाई अस्थिर र अनपेक्षित बनाएको छ। यस विशिष्ट परिप्रेक्ष्यमा विश्व राजनीतिलाई तरंगित बनाउने प्रमुख भू-राजनीतिक आयामहरू र त्यसले दक्षिण एसिया तथा नेपालमा पारेको गम्भीर प्रभावको विमर्श गर्नु अपरिहार्य बनेको छ।
मध्यपूर्वको भू-राजनीतिमा इरान र अमेरिकाबीचको ऐतिहासिक शत्रुता हालैका वर्षहरूमा विनाशकारी सैन्य टकरावमा परिणत भएको छ। विशेषगरी सन् २०२६ को सुरुवाती महिनाहरूमा अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमण (अपरेशन एपिक फ्युरी’) मार्फत इरानका सर्वोच्च नेता अली खामेनीलगायत शीर्ष नेतृत्वको मृत्यु भएपछि मध्यपूर्वको संकटले भयावह रूप लियो।
यस द्वन्द्वले परम्परागत प्रोक्सी (छद्म) युद्धको सीमा नाघेर प्रत्यक्ष युद्धको रूप धारण गरेको छ। इरानद्वारा अमेरिकी सैन्य अखडा र इजरायली सहरहरूमा गरिएका ब्यालेस्टिक मिसाइल प्रहार र प्रत्युत्तरमा भएका नाकाबन्दीहरूले यो क्षेत्रलाई लामो समय अस्थिर बनाएको छ। यो द्वन्द्व केवल दुई राष्ट्रबीचको टकराव मात्र होइन, यसले विश्वकै सबैभन्दा संवेदनशील ऊर्जा मार्ग हर्मुज जलडमरूलाई ठप्प बनाइदिँदा विश्वव्यापी इन्धन संकट निम्त्याएको छ। इरान-अमेरिका द्वन्द्वले के देखाउँछ भने मध्यपूर्वमा कूटनीतिक संवादका पुराना संयन्त्रहरू पूर्ण रूपमा असफल भइसकेका छन् र अब यस क्षेत्रको शक्ति सन्तुलन नयाँ र अधिक आक्रामक ढङ्गले पुनर्गठित हुँदैछ।
वर्तमान विश्व शक्ति सन्तुलन कुनै एक महाशक्तिको वरिपरि मात्र केन्द्रित छैन। दोस्रो विश्वयुद्धपछि बनेका बहुपक्षीय संस्थाहरू (जस्तै संयुक्त राष्ट्र संघ) को प्रभावकारिता कमजोर बन्दै गएको छ भने क्षेत्रीय र रणनीतिक गठबन्धनहरू बलिया हुँदै गएका छन्।
आजको विश्व शक्ति सन्तुलनलाई ‘नियन्त्रित प्रतिस्पर्धाको रूपमा बुझ्न सकिन्छ। एकातिर अमेरिका र उसका पश्चिमा मित्रराष्ट्रहरू आफ्नो लोकतान्त्रिक र उदारवादी विश्व व्यवस्थालाई जोगाउन प्रयासरत छन् भने, अर्कोतिर चीन, रुस र इरानजस्ता शक्तिहरू मिलेर पश्चिमा प्रभुत्वलाई चुनौती दिने अघोषित धुरी निर्माण गरिरहेका छन् । यो शक्ति सन्तुलन परम्परागत सैन्य क्षमतामा मात्र आधारित छैन यसमा आर्टिफिसियल इन्टेलिजेन्स (AI), सेमिकन्डक्टर प्रविधि, साइबर स्पेस, र हरित ऊर्जाको नियन्त्रणका लागि नयाँ प्रकृतिको शीतयुद्ध चलिरहेको छ।
सन् २०२२ फेब्रुअरीदेखि सुरु भएको रुस-युक्रेन युद्धले पाँचौँ वर्षमा प्रवेश गर्दा पनि यसको अन्त्यको कुनै सुनिश्चित मार्ग देखिएको छैन। यो युद्धले युरोपेली सुरक्षा संरचनालाई मात्र भत्काएको छैन, यसले आधुनिक युद्धकलाको परिभाषा समेत बदलिदिएको छ। सन् २०२६ को मध्यसम्म आइपुग्दा रुसले ठुलो मात्रामा मानवीय र आर्थिक क्षति बेहोर्नुपरेको छ, जहाँ ठूलो संख्यामा सैनिक हताहत भइसकेका छन्। युक्रेनले कृत्रिम बुद्धिमत्ता (AI) युक्त ड्रोनहरू र दूरगामी मिसाइल प्रयोग गरेर रुसी भूमिभित्रै समेत लजिस्टिक नेटवर्कमा गम्भीर धक्का पुर्याएपछि रुसको सैन्य श्रेष्ठतामाथि प्रश्न उठेको छ।
यो युद्धको गम्भीर पाटो के हो भने, पश्चिमा प्रतिबन्धहरूका बाबजुद रुसले चीन, उत्तर कोरिया र इरानको सहयोगमा आफ्नो युद्ध-अर्थतन्त्रलाई टिकाउन सफल भएको छ। अर्कोतर्फ, युक्रेनलाई पश्चिमा देशहरूले अर्बौँ डलरका हतियार उपलब्ध गराए पनि पूर्ण विजय हासिल गर्न गाह्रो परिरहेको छ। यसले विश्वलाई दुईवटा स्पष्ट ध्रुवमा विभाजित गरिदिएको छ: एकातर्फ नेटो (NATO) र अर्कातर्फ युरेशियाली सामरिक गठबन्धन।
विश्व राजनीतिको सबैभन्दा निर्णायक पक्ष चीन-अमेरिका सम्बन्ध नै हो । दुवै देशहरू विश्वका सबैभन्दा ठुला अर्थतन्त्र र सैन्य शक्ति हुन् । हालैका वर्षहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ भ्रमण र चिनियाँ राष्ट्रपति सी चिनपिङसँगको संवादले दुई देशबीच रणनीतिक स्थिरताको नयाँ खाका कोर्ने प्रयास गरेको छ । यो कदम व्यापार युद्ध र ताइवानको मुद्दालाई लिएर सिर्जना हुन सक्ने सम्भावित खुला सैन्य मुठभेडलाई रोक्नका लागि गरिएको घेराबन्दी मात्र हो।
अमेरिकाले चीनको प्रविधिको विकास, विशेष गरी उन्नत सेमिकन्डक्टर (चिप्स) र एआई प्रविधिमाथि कडा निर्यात प्रतिबन्ध लगाएर चीनलाई रोक्ने नीति लिएको छ। जवाफमा चीनले ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ’ (GDI) र ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ’ (GSI) मार्फत ग्लोबल साउथ (विकासोन्मुख देशहरू) मा आफ्नो प्रभाव बलियो बनाउँदै लगेको छ। यी दुई शक्तिबीचको सम्बन्ध पूर्ण रूपमा कटअफ (Decoupling) हुन सक्दैन किनकि उनीहरू आर्थिक रूपमा गहिरोसँग जोडिएका छन्, तर उनीहरूबीचको प्रतिस्पर्धात्मक सह-अस्तित्वले नै आगामी पुस्ताको विश्व राजनीतिलाई निर्देशित गर्नेछ।
विश्वव्यापी शक्तिको केन्द्र अहिले इन्डो-प्यासिफिक (हिन्द-प्रशान्त) क्षेत्रमा केन्द्रित भएसँगै दक्षिण एसिया भू-राजनीतिको मुख्य रंगमञ्च बनेको छ। चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) र अमेरिकाको इन्डो-प्यासिफिक स्ट्राटेजी (IPS) को सोझो टकराव मुख्य रूपमा नेपाल ,भारत र समग्र यस क्षेत्रमा देखिएको छ। यस क्षेत्रको प्रमुख शक्ति भारत एकातिर अमेरिका, जापान र अस्ट्रेलियासँग ‘क्वाड’ (QUAD) मार्फत रणनीतिक साझेदारी गरिरहेको छ भने अर्कोतिर रुस र चीनसँग ब्रिक्स (BRICS) र एससीओ (SCO) मार्फत पनि जोडिएको छ।
यस बदलिँदो परिस्थितिमा नेपालको कूटनीतिक संवेदनशीलता झन् चुलिएको छ। दुई ठुला र उदीयमान आणविक शक्ति राष्ट्रहरू (चीन र भारत) को बीचमा अवस्थित नेपालका लागि विश्वव्यापी शक्ति सन्तुलनको कम्पन प्रत्यक्ष महसुस भइरहेको छ।
नेपाल अब केवल भारत र चीनको “दुई ढुङ्गाबीचको तरुल” मात्र रहेन, बरु अमेरिका र पश्चिमा शक्तिहरूको समेत प्रत्यक्ष चासोको केन्द्र बनेको छ। नेपालमा अमेरिकी विकास सहयोग (MCC) को कार्यान्वयन, चीनको BRI अन्तर्गतका परियोजनाहरूको गत्यावरोध, र भारतसँगको परम्परागत तथा ऊर्जा कूटनीतिको त्रिकोणात्मक दबाबमा नेपाल परिरहेको छ।
नेपालले यस परिस्थितिबाट जोगिन परम्परागत असंलग्न परराष्ट्र नीतिलाई परिमार्जन गर्दै सक्रिय तटस्थता अवलम्बन गर्ने, जहाँ कुनै पनि सैन्य वा रणनीतिक ब्लकमा सामेल नभई राष्ट्रिय हितका आधारमा निर्णय लिन सकियोस्। भू-राजनीतिक दबाबलाई आर्थिक अवसरमा बदल्न दुवै छिमेकीसँग कनेक्टिभिटी (रेल, सडक, र विद्युत प्रसारण लाइन) को विस्तार गर्ने र नेपाललाई ‘ट्रान्जिट स्टेट’ को रूपमा विकास गर्ने, परराष्ट्र नीतिका न्यूनतम राष्ट्रिय एजेन्डाहरूमा देशभित्रका प्रमुख राजनीतिक दलहरूबीच साझा दृष्टिकोण निर्माण गर्ने, ताकि वैदेशिक शक्तिहरूले आन्तरिक राजनीतिमा खेल्ने ठाउँ नपाऊन् यदि यस्तो गर्न सकिएन भने नेपाल थप अफ्ठ्यारो बिन्दुमा ठोकिन सक्छ ।
वर्तमान विश्व परिस्थिति इतिहासकै तरल र संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ। मध्यपूर्वी द्वन्द्व, युक्रेन संकट, र चीन-अमेरिकाको रणनीतिक टक्करले पुराना स्थापित नियमहरूलाई खारेज गरिदिएका छन्। यो बदलिँदो शक्ति सन्तुलनले साना र भू-परिवेष्ठित राष्ट्रहरूका लागि गम्भीर चुनौती थपेको छ। नेपालले यस विश्वव्यापी आँधीबेहरीमा आफूलाई जोगाउन ‘सन्तुलित, परिपक्व र राष्ट्रिय हित केन्द्रित’ कूटनीतिको सहारा लिनुपर्छ। विश्व शक्तिको टकरावमा गोटी बन्नुको साटो नेपालले आफ्नो विशिष्ट भू-अवस्थितिको रणनीतिक महत्त्व बुझेर कूटनीतिक कौशलता देखाउन सकेमा मात्र यो बदलिँदो विश्व परिस्थितिमा आफ्नो सार्वभौमिकता र समृद्धिलाई सुनिश्चित गर्न सक्छ ।