११ पौष ,काठमाडौ ,नेकपा एमालेले पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्रीबारे छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेताहरुबीच छलफल चलिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथसँगै सानो आकारको मन्त्री मण्डल आजै गठन गर्ने सहमति अनुसार पार्टीबाट सरकारमा पठाउने मन्त्रीहरुबारे छलफल गर्न अध्यक्ष ओलीले नेताहरुलाई बालकोट बोलाएका हुन ।
छलफलका लागि एमालेका महासचिव सहितका पदाधिकारीहरू बालकोटमा पुगेका छन । ६ जनाको नामको सूची अध्यक्ष ओलीले तयार गरिसकेको बालकोट स्रोतले जनाएको छ । एमालेबाट सुवास नेम्वाङले सरकारमा पार्टीको नेतृत्व गर्ने भन्ने विषयमा छलफल चलिरहेको बुझिएको छ ।
अन्यमा मन्त्रीबन्ने नामावलीमा देवराज घिमिरे, रघुवीर महासेठ, कृष्णगोपाल श्रेष्ठ, गोकुल बाँस्कोटा, टोपबहादुर रायमाझी, पदम गिरी र विद्या भट्टराई लगायतको नाम पहिलो चरणमा मन्त्रीका लागि जाने सम्भावना रहेको छ । कम्तीमा सात जनाको मन्त्रीमण्डल आजै गठन गर्ने तयारी गरिएको छ ।उता प्रचण्डले आजै प्रधानमन्त्रीको शपथ लिने भएपछि देउवाले बालुवाटार छोड्ने तयारी थालेका छन् । बालुवाटारमा गुण्टा र सरसामान पोको पार्ने कार्य भइरहेको श्रोतले बताएको छ ।