एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट अलग भई एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपाललाई एमालेमै फर्कन सार्वजनिक रुपमा आग्रह गर्नुभएको छ ।
आज सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादी अध्यक्ष नेपाललाई एमालेमै फर्कन आग्रह गर्नुभएको हो ।
एमाले विभाजनको झण्डै १५ महिनापछि ओलीले नेपाललाई एमालेमै फर्कन आज पहिलो पटक आग्रह गर्नुभएको छ । तत्कालीन नेकपाभित्रको विवाद र एमाले विभाजनपछि नेपालप्रति कटाक्ष गर्दै आउनुभएका ओलीले चुनावको मुखमा नेता नेपाललाई एमालेमा फर्कन आग्रह गर्नुलाई अर्थपूर्ण ठानिएको छ ।
उहाँले एमालेमै फर्किएमा नेपाललाई महत्वपूर्ण जिम्मेवारी दिने समेत कार्यक्रममा बताउनुभएको छ । ‘तर, यसका लागि विगतमा भएका गल्ती सच्याउनुपर्छ,’ अध्यक्ष ओलीको सर्त छ ।
विगतमा भएका गल्ती सच्याउँदै एमाले प्रवेश गरेमा अध्यक्ष नेपाललाई विगतका तिता कुरा सबै बिर्सन आफू तयार रहेको उहाँको भनाइ छ ।