सन्दीप लामिछाने तिहारभर हिरासतमै रहने

0

नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने तिहारसम्म हिरासतमै रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै उनको मुद्धा तिहारपछि मात्रै दर्ता हुने भएको हो ।

बलात्कार आरोपमा पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि हिजो जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । अदालतले दुई दिन म्याद थपको अनुमति दिएपनि आजदेखि अदालत बिदा हुने भएकाले उनी तिहारसम्म हिरासतमै रहने छन् ।

दुई दिनमा अनुसन्धान सकेर अभियोगपत्र सरकारी वकिललाई बुझाउने प्रहरीको तयारी छ । त्यसो हुँदा तिहारलगत्तै लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता हुनेछ ।

उनीमाथि यो चौथो पटक म्याद थपिएको हो । यसअघि पहिलोपटक असोज २४ गते सात दिन, दोस्रोपटक असोज २७ गते पाँच दिन र गत बुधबार तेस्रोपटक चार दिन हिरासतमा राख्न अनुमति दिएको अदालतले हिजो थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको हो ।

गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here