– ज्योतिकिरण
राजनीतिमा निर्वाचन केवल एउटा प्राविधिक प्रक्रिया मात्र होइन। यो सामूहिक मनोविज्ञानको एउटा विशाल विष्फोट पनि हो। मतपेटिकाभित्र खस्ने मतपत्रहरूमा एकातिर नागरिकका रङ्गीन सपनाहरूको उत्साह लुकेको हुन्छ भने अर्कोतिर राज्यसत्ताप्रतिको गहिरो आक्रोश पनि रहेको हुन्छ । यी विपरित दुई ध्रुवीय संवेगहरूको फ्युजन नै आधुनिक नेपाली निर्वाचनको मुख्य चरित्र बन्दै आएको छ । निर्वाचनमा देखिएको उत्साह र नयाँ अनुहारप्रतिको आकर्षणले अझै पनि नेपाली जनतामा मतपत्रको शक्तिमाथि विश्वास बाँकी छ भन्ने पुष्टि भएको छ भने सूचना प्रविधिको विस्तारसँगै आएको राजनीतिक साक्षरताले अब जनता केवल भोट बैंक रहेनन् भन्ने प्रमाणित पनि गर्दै लगेको देखिन्छ । चुनावी अभियानमा जनताको प्रतिक्रियालाई हेर्दा उम्मेदवारको योग्यता, एजेन्डा र विगतको ट्रयाक रेकर्ड विश्लेषण गर्ने सचेत नागरिकको उदय भइसकेको स्पष्ट सन्देश बाहिरिएको छ । परम्परागत राजनीतिक सिन्डिकेटलाई चुनौती दिँदै आएका स्वतन्त्र र नयाँ दलहरूप्रति युवा पुस्ताको जुन लहर छ, त्यसले लोकतन्त्रमा नयाँ प्राण भरेको छ। यो उत्साह यथास्थितिवाद विरुद्धको एउटा मौन विद्रोहको रुपमा देखा परेको छ ।
प्रणालीगत असन्तुष्टिको राप:
अहिले निर्वाचनको उत्साहको समानान्तर रूपमा एउटा गहिरो आक्रोश सडकदेखि सामाजिक सञ्जालसम्म व्याप्त छ। यो आक्रोश कुनै व्यक्ति विशेषप्रति मात्र नभई समग्र डेलिभरी संयन्त्र प्रति लक्षित देखिन्छ । घोषणापत्रमा लेखिएका पुराना पार्टीका चिल्ला कुरा र भुइँतहको यथार्थबीचको ठूलो अन्तरले मतदातामा वितृष्णा जगाएको छ। शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत आवश्यकतामा राज्यको उदासीनता नै आक्रोशको मुख्य स्रोत देखिएको छ । नेतृत्वमा बारम्बार देखिएको एउटै अनुहार र नयाँ पुस्तालाई स्थान नदिने प्रवृत्तिका कारण मतदातामा एक प्रकारको पुराना प्रति घृणाको लहर देखिएको छ । निर्वाचनमा देखिएको उत्साह र आक्रोशलाई दार्शनिक ढङ्गले हेर्ने हो भने, यो हेगेलियन द्वन्द्ववाद जस्तै देखिएको छ । अहिलेको निर्बाचनमा “उत्साह ‘वाद’ हो भने आक्रोश ‘प्रतिवाद’ भएको छ । यी दुईको टकरावबाट निस्कने परिणाम नै नयाँ राजनीतिक ‘संश्लेषण’ हुने निश्चित देखिन्छ। समग्रमा आजका मतदाताले आक्रोशलाई भोटमा बदलेर उत्साहको खोजी गरिरहेका छन्। यो सचेत आक्रोश हो, जसले उम्मेदवारहरूलाई जबाफदेही बन्न बाध्य पारेको छ। यदि यो आक्रोशलाई बेलैमा सम्बोधन गरिएन भने, यसले ‘लोकतन्त्र’ माथि नै संशय पैदा गर्न सक्छ। तर, निर्वाचनमा प्रकट हुने यो ऊर्जाले नै अन्ततः राज्यलाई सुधार्ने चेक एन्ड ब्यालेन्सको काम गर्ने स्पष्ट छ ।
निर्वाचनको सामाजिक मनोविज्ञान:
निर्वाचन केवल अंकगणितको खेल वा राजनीतिक दलहरूको शक्ति प्रदर्शन मात्र नभएर यो समाजको सामूहिक चेतना, आवेग, र मनोवैज्ञानिक प्रवृत्तिको प्रकटीकरण पनि हो। निर्वाचनमा मतदाताको छनोट प्रक्रियालाई बुझ्न राजनीतिशास्त्र भन्दा बढी सामाजिक मनोविज्ञानको गहिराइमा पुग्न आवश्यक हुन्छ।
मनोवैज्ञानिक रूपमा मानिसहरू आफ्नो सामाजिक पहिचान जातीय, क्षेत्रीय, वा विचारधारात्मक जस्ता आफ्ना सामाजिक पहिचानसँग जोडिएका हुन्छन् । निर्वाचनको समयमा राजनीतिक दलहरूले यो सामूहिक पहिचानलाई सक्रिय बनाउँने काम गरिरहेका छन् । जब मतदाताले आफूलाई कुनै विशिष्ट समूहको सदस्य ठान्छ तब उसले तार्किक भन्दा पनि भावनात्मक आधारमा मतदान गर्छ। यसले समाजलाई धु्रवीकरण तर्फ लैजान्छ, जहाँ विपक्षीलाई केवल प्रतिस्पर्धी मात्र नभई शत्रु वा अस्तित्वको खतराका रूपमा हेर्न थालिन्छ। अहिले नयाँ र पुराना दलहरुको बीचमा यस्तै शत्रु र अस्तित्वको टकराव पैदा हुने संकेत देखिएको छ । समसामयिक सूचना प्रविधिको युगमा मतदाताहरू कन्फर्मेसन बायसको शिकार हुन्छन्। मानिसहरू त्यही सूचना मात्र ग्रहण गर्छन् जसले उनीहरूको पूर्व-स्थापित धारणालाई पुष्टि गर्छ। सामाजिक सञ्जालका एल्गोरिदमहरूले मतदातालाई एकै प्रकारको सूचनाको घेरा भित्र कैद गरिदिन्छन्। यसले गर्दा नयाँ तथ्य वा तर्कले मतदाताको निर्णय परिवर्तन गर्न कठिन हुने अवस्था छ भने उनीहरू आफ्नो विश्वासमा अझ कट्टर बनेका देखिन्छन् ।
यो निर्वाचनमा राजनीतिक न्यारेटिभहरू डर र आशाको वरिपरि घुमेका देखिन्छन् । “यदि हामीले जितेनौं भने देश सकिन्छ” वा “अर्को पक्ष आएमा तपाईंको धर्म/संस्कृति खतरामा पर्छ” भन्ने जस्ता भाष्यले मानिसहरुमा अस्तित्वगत असुरक्षालाई जगाइरहेको छ भने अर्का तर्फ नयाँ र वैकल्पिक शक्तिहरूले परिवर्तन र सुनौलो भविष्यको सपना बाँडेर युवा र निराश मतदाताको मनोविज्ञानलाई आकर्षित पनि गरिरहेका छन्।
मतदाताले प्रायः कुनै उम्मेदवारको एउटा सकारात्मक पक्ष देखेर उसलाई सबै क्षेत्रमा सक्षम ठान्ने गल्ती गरिरहेको पनि देखिन्छ । यसलाई मनोविज्ञानमा ‘हेलो इफेक्ट’ भनिन्छ। बौद्धिक तर्क भन्दा पनि उम्मेदवारको व्यक्तित्व वा सेलिब्रेटी छविले आम मनोविज्ञानमा गहिरो प्रभाव पारेको देखिन्छ ।
पछिल्लो समयमा कसलाई जिताउने भन्दा पनि कसलाई हराउने भन्ने मनोविज्ञानले निर्वाचनमा काम गरिरहेको देखिन्छ। जब मतदाताले कुनै पनि दललाई पूर्ण रूपमा मन पराउँदैनन्, तब उनीहरू आफूलाई सबैभन्दा कम मन नपर्ने पात्रलाई मत दिन्छन्। यो मतदाताको सकारात्मक समर्थन भन्दा पनि नकारात्मक घृणाबाट निर्देशित रहेको छ । निर्वाचनको सामाजिक मनोविज्ञानले तर्क र तथ्यांकलाई उछिनेर भावना र अनुभूतितर्फ समाजलाई डोर्याएको छ । समसामयिक लोकतन्त्रमा मिडिया र प्रविधिको प्रयोग मार्फत आम मानिसको अवचेतन मनलाई नियन्त्रण गर्ने प्रयास भइरहेको छ। त्यसैले, एक सचेत मतदाता हुनका लागि आफ्नो राजनीतिक छनोट पछाडिका मनोवैज्ञानिक पूर्वाग्रहहरूलाई चिन्नु र वस्तुनिष्ठ विश्लेषण गर्नु अपरिहार्य छ।
निश्कर्ष:
निर्वाचन केवल नियमित प्रक्रिया वा सङ्क्रमण कालिन समयको जटिलर परिस्थितिमा आउने राजनीतिको बाध्यता वा चाड पर्व मात्र होइन, यो त नागरिकले आफ्नो सार्वभौमसत्ताको प्रयोग गर्ने उच्चतम् क्षण हो। आजको आवश्यकता भनेको आक्रोशलाई सिर्जनात्मक दबाबमा बदल्नु र उत्साहलाई दिगो विकासको आधार बनाउनु नै हो। राजनीतिक दलहरूले बुझ्नुपर्छ कि नागरिकको मौनता जति भयानक हुन्छ, उनीहरूको आक्रोश त्यति नै निर्णायक। त्यसैले आज बेथिती विरुद्ध आक्रोशको यही गर्भबाट नै नयाँ उत्साहको जन्म गर्न आवश्यक छ ।


