काठमाडौँ, सुख शान्ति मिडियाको आयोजनामा ‘अञ्जली ‘ नामक (वृहत् सुसेली काव्याञ्जलि) कृतिको लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय सुसेली फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी ‘भमरकोटे’को सभापतित्व तथा दीप्सन गौडेलको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो।
विशेष सम्मान तथा पदवी घोषणा:
समारोहमा सुसेली विधामा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै इन्जिनियर वेदप्रसाद गौडेललाई ‘सुसेली सम्राट’ को पदवीद्वारा विभूषित गरियो। सोही अवसरमा सम्पादक शिव शर्मालाई ‘कुशल सम्पादक सम्मान’ प्रदान गरिएको थियो।
कृतिको समीक्षा र मन्तव्य:
कृतिको समीक्षा गर्दै डा. ध्रुव गजुरेलले इन्जिनियर गौडेलले भौतिक संरचनामा जस्तै शब्दको बुनोटमा पनि सशक्त ‘डिजाइन’ प्रस्तुत गरेको बताउनुभयो। सम्मानित व्यक्तित्व गौडेलले ‘सम्राट’को उपाधिले आफूलाई थप जिम्मेवारी बोध गराएको उल्लेख गर्दै सुसेली विधाको उत्थानमा निरन्तर लाग्ने प्रतिबद्धता जनाउनुभयो। पूर्व सेनानी टङ्कबहादुर बजगाईं खत्रीले “यो शासन गर्ने सम्राट नभई शब्दको सम्राट हो, जसको सम्मान गरिनु गौरवको कुरा हो।” युवा साहित्यकार रसुवाली कविले “साहित्यलाई साँघुरो घेरामा राखेर विवाद गर्नेहरू कुवाका भ्यागुता हुन्। सुसेलीले नेपाली साहित्यमा आफ्नो स्थान बनाइसकेको छ।” भन्ने धारणा व्यक्त गर्नु भयो भने वरिष्ठ साहित्यकार चन्द्रा न्यौपानेले गौडेलको कलाकारिता र साहित्यिक सक्रियता दुवै सशक्त रहेको भन्दै शुभकामना व्यक्त गर्नुभयो।
साथै अध्यक्ष दुर्गा अधिकारीले सुसेली विधा विद्यालयको पाठ्यक्रममा समावेश भइसकेकाले यसले आगामी दिनमा थप उचाइ लिने विश्वास व्यक्त गर्नुभयो। सरस्वती अर्याल, रेखा महर्जन, सत्यनारायण ढकाल, सावित्री के.सी., भोजभक्त कँडेल, विष्णु गुरुङ र उमा विडारीले सुसेली गायन प्रस्तुत गर्नुभएको थियो। सोही अवसरमा साहित्यकार भोजभक्त कँडेल, कल्पना अधिकारी भट्टराई र दीप्सन गौडेलको जन्मदिनका साथै पार्वती रिमाल र राजन रिमालको वैवाहिक वर्षगाँठ समेत मनाइएको थियो। कार्यक्रममा शिक्षाविद् इन्द्रविलास घिमिरे, व्याकरणविद् पुरुषोत्तम भण्डारी, प्रकाशक धन गौडेल, उपाध्यक्ष सुशीला ढकाल अधिकारी, गायक रामशरण पाण्डे, निर्देशक नवीन घिमिरे लगायत ७० जनाभन्दा बढी विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन चर्चित साहित्यकार तथा कलाकार दामोदर ढकाल ‘दीपक’ले गर्नुभएको थियो।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी


