- नेपाली समाजमा अर्काको निन्दा नगर्ने मान्छे पनि पत्रकार हुन्छन् भन्ने एउटा सग्लो उदाहरण निर्भीक दाइ पनि थिए ।
- उनीभन्दा ठूलो राष्ट्रवादी एकाध मान्छेलाई मात्रै देखेको छु ।
- त्यस समयमा पनि जातभातबाट निर्भीक थिए; निर्भीक दाइ
- म एक पटक कम्युनिष्ट भएर राजावादी भएको मान्छे हुँ ।
- निर्भीक दाइ चेतनाका एउटा संवाहक, जागरणका एउटा चौतारी र कर्तव्यका एउटा सजग प्रहरी मानिन्थे ।
हाम्रो झापाका पौरखी पुरुषहरूमध्ये एक जना डिल्लीराम निर्भीक पनि थिए । हाम्रा झापाका सम्पतिमध्ये एक जना डिल्लीराम निर्भीक पनि थिए । अनि हाम्रो झापाका स्तम्भमध्ये एक जना डिल्लीराम निर्भीक पनि थिए । यस्ता धेरै डिल्लीराम निर्भीकहरूको सँगालोले बनेको हो- झापा जिल्ला । वास्तवमा डिल्लीराम निर्भीक झापाका त्यस्ता होनहार बिम्ब थिए, जसको लेखाजोखाको प्रमुख आधार पत्रकारिता नै मानिन्थ्यो ।
एउटा नरम, एउटा सरल र एउटा सहृदयी व्यक्ति थिए- डिल्लीराम निर्भीक । उनलाई कसैले गाली गर्दा पनि केही फरकै पर्दैन थियो । उनको अनुहार हेर्दा उनी जति कठोर देखिन्थे भित्र प्रवेश गरेपछि उनी त्यति नै नरम भेटिन्थे । कसैको अहित नचिताउने उनी चित्त बुझेन भने मौन बस्थे, तर कसैको जरा खन्दैन थिए । नेपाली समाजमा अर्काको निन्दा नगर्ने मान्छे पनि पत्रकार हुन्छन् भन्ने एउटा सग्लो उदाहरण निर्भीक दाइ पनि थिए । वास्तवमा नेपालको पत्रकारिताका क्षेत्रमा यस्ता निर्भीक दाइहरू अत्यन्तै थोरै गनिन्छन् । त्यसैले पनि झापामा मात्र नभएर नेपालैभरि पनि यिनको गन्ति गरिन्थ्यो ।
निर्भीक दाइको नाउँ मात्र निर्भीक थियो । आजको नेपालमा उनी हरेक बेहोरामा निर्भीक हुन सकेका थिएनन् । शायद हिजोको नेपालमा उनी निर्भीक थिए होला । हो उनको निर्भीकता नेपालीत्व, स्वाभिमान र नैतिकतामा चाहिँ कायमै थियो । यदि यी चिजहरूमा मात्रै उनको उपनाउँलाई केन्द्रित गर्ने हो भने उनी सच्चा निर्भीक थिए । किनभने मैले उनीभन्दा ठूलो राष्ट्रवादी एकाध मान्छेलाई मात्रै देखेको छु ।
तस्बिर स्वा. डिल्लीराम निर्भिक
निर्भीक दाइ नेपालको पत्रकारिताको क्षेत्रमा सधैँ जागरुक नाउँ थियो । त्यो नाउँ कहीँकतै बन्दकीमा बाँधिएको अभिलेख भेटिँदैन थियो । उनी पैसा, मान र प्रतिष्ठाभन्दा राष्ट्रियताका लागि पत्रकारितामा समर्पित थिए । त्यसैले राजादेखि रङ्कसम्मले यिनको मर्यादा राखिरहे । त्यही परिवेश जोडिएर मैले पनि निर्भीक दाइलाई सम्मान गरेँ, श्रद्धा गरेँ र आदर गरेँ । मेरो त्यति बेलादेखि यति बेलासम्मको त्यो रीतले जरा हालिरहेको छ, हाँगा फैलिरहेको छ र पात झाङ्गिरहेको छ ।
निर्भीक दाइलाई उमेरसँग तुलना गर्न पनि सकिँदैनथ्यो । किनभने उनी उमेरभन्दा जागरुक्, सक्रिय र उत्साहित थिए । वास्तवमा उनका उमेरका मान्छे धेरै कुण्ठित देखिन्छन् तर उनी जति उमेर चढ्यो त्यति फूर्तिला देखिन्थे ।
मुलुकमा गणतन्त्रको प्रवेश हुँदा निर्भीक दुलाभित्र नपसी पुनः हिन्दू राज्य र राजसंस्थाको प्रतिष्ठापनका लागि जागरुक देखिएका थिए । राजाका परिवेशमा उनी भन्थे, “नेपाल र नेपालीको अस्तित्व राजसंस्थासँगै गाँसिएको छ । त्यसैले म यसका लागि लड्छु ।” उनी मुखले मात्र लड्दैन थिए । यस मामलामा उनी मन, वचन र कर्मले अग्रसर थिए । उनी मात्र होइनन् उनको चिन्तनमा उनकी धर्मपत्नी पार्वती शर्मा पनि सधैँ उनैका साथमा हुन्थिन् । वास्तवमा उनको पत्रकारिता पेशा फुलाउन, हुर्काउन र फलाउन पार्वती भाउजूको पनि महत्त्वपूर्ण हात थियो । पार्वती भाउजूले नेपाल राष्ट्र बैङ्कको जागीरमा रहेर घरपरिवारको पूर्ण जिम्मेवारी लिएपछि नै निर्भीक दाइ जीवन यापनका लागि त्यस घडी निर्भीक हुन सकेका थिए ।
निर्भीक दाइको जिन्दगानीको सम्पूर्ण बेहोरा उनीसँग नजिक भएका सबैलाई थाहा थियो । तर उनको जातबारे उनकी धर्मपत्नीलाई पनि थाहा थिएन । शायद उनी बाहुनका छोरा थिए र उनकी पत्नी नेवारकी छोरी नै हुन् । यति कुरा चाहिं सबैलाई थाहा थियो । अर्थात् त्यस समयमा पनि जातभातबाट निर्भीक थिए; निर्भीक दाइ ।
त्यस बेला झापाक्रान्तिको सुरुआत गर्नेहरूलाई त्यहाँ बाँच्न कठिन थियो । त्यसैले मलाई पनि बँचाउनका लागि काठमाडौँ पठाइयो । जसले गर्दा मैले २०२८ साल माघ ६ गते झापा छोड्नु पर्यो । त्यसपछि म काठमाडौँकै वासिन्दामा दरिएँ । यति हुँदाहुँदै पनि म घरिघरि झापा जान चाहिँ छाडिन । त्यही परिवेशले निर्भीक दाइ र मेरो सम्पर्क बढी नै रह्यो ।
म एक पटक कम्युनिष्ट भएर राजावादी भएको मान्छे हुँ । तर निर्भीक दाइलाई मैले कहिले काङ्ग्रेस र कम्युनिस्ट भएको देखिन । उनी सधैँ राजावादी भएको मात्रै मैले देख्तै आएँ । अन्त्यमा मलाई उनीसँग एउटा कुरा चाहिं सोध्न मन लागेको थियो, “२०१७ सालअघि उहाँ काङ्ग्रेस हुनुहुन्थ्यो या कम्युनिस्ट !”
निर्भीक दाइ चेतनाका एउटा संवाहक, जागरणका एउटा चौतारी र कर्तव्यका एउटा सजग प्रहरी मानिन्थे । त्यसैले उनीसँगै विपरित राजनीतिक सिद्धान्तका पण्डितहरू पनि हातेमालो गर्न रुचाउँथे । तर जुनसुकै मान्छे र सिद्धान्तकारसँग यिनको बसउठ भए तापनि यिनले आफ्नो राष्ट्रवादी सिद्धान्त विपरित आफूलाई कुनै खेमामा पुर्याएका थिएनन् । धन, मान र पदमा उनको निर्भीकताले साथ नदिए तापनि राष्ट्रवादी धारामा उनको निर्भीकताले कहिले कुच्चिनु परेका थिएन । त्यही नै उनको सङ्क्षिप्त परिचय पनि थियो ।
‘हिजोआज’ मेची अञ्चलको पहिलो दैनिक पत्रिकाको सम्पादक भएर निर्भीक दाइले नेपाली पत्रकारिताको इतिहासमा आफ्नो सग्लो पाइला राखेका थिए । त्यही बेहोराले पनि उनी सधैं मर्यादित थिए । नेपाली समाजमा काम गर्दा गर्दै उनी थला परे । अन्ततः २०७३ साल साउन १९ गते राजधानी काठमाडौंमा उनको स्वर्गारोहण भयो ।


