कविता: रात बोकेर पिठ्युँमा

0

यी दिनहरू यति उल्लासका दिनहरू
– अन्तिम दिनजस्ता लाग्दैछन्
यो रात,
उदास रातहरूको सुरुवात जस्तो लाग्दैछ

बिगत फर्केर हेर्दा-
दु:खको दबदबे हिलोमा टेकेको पाइलाको डोब देखिन्छ
अहिले पछारिएको ठाउँमा पनि हिलो बाहेक केही छैन
कमल फुल्छ हिलोमा
तर,
अहिले रोपिएको बीउ कमलको त हुन पर्यो
आगत बनमारा बनेर फुल्छ भन्नु मात्र पछुताउनु हो

रगत जमेर बनेको सिंहासनमा
हड्डीहरू जोडेर बनाइएका खुट्टाहरू छन्
यी हाड जो आन्दोलनको बिचमा ढले
अहिले उभ्याएका छन्- सत्ताको कुर्सी
यो गद्दा जहाँ शासक नरम अनुभुती गरिरहेछ
त्यो हो मासुको थुप्रो
आन्दोलन तुहियो भने
– आमालाई गार्हो हुन्छ
– गानिन्छन् आमाका स्तन

बिचार मथेर सिद्धान्त बनाउन
ठेकी अर्कैको, मदानी अर्कैको,
र त्यो छिमेकी
जसले तिम्रो गोठमा एक मुठा घाँस हालेन
नदेउ नेती उसको जिम्मामा
उसलाई त महि दिने हो कहिलेकाहीँ
एक दुई सर्का लगाएको भरमा
नौनी नै मेरो हो भन्दिनेछ उसले
बिलौनीको सम्झौता गरेर नौनी नदिनु

सुखको अन्त्य- दु:खको सुरुवात जस्तो
शान्तिको हत्या- भयको जन्म जस्तो
बिकासको छातीमा- बिनासले झन्डा गाडेको जस्तो
– आँखाले नदेखेको
– कानले नसुनेको
– मुखले नबोलेको
टाउको मात्र हल्लिएर- अँ अँ हो हो भनिरहेको …….

लामा लामा रातहरू आफ्नो बर्चस्व देखाउन
दिनहरूको ताकत आफ्नो ढाड पछाडि लुकाएर
यो के गर्दैछन् ?
यो किन गर्दैछन् ?
को हो त्यो मौन शालिकजस्तो ?

बच्चाले टिभीभित्र मान्छे छ भनेजस्तो
भनिरहेछन् यो देशका मान्छेहरू
– यो देशभित्र सरकार छ
यो भ्रम चिरेर यथार्थ बताउने को छ ?
कि यो दुर कतै बसेको शासकको छायाँ हो …

यी शिशिरका लामा लामा रात
लाटोकोसेरो भएर भर्नु छ- एउटा उडान
पत्ता लगाउनुछ-
कहाँ बसेका छन्
दिन सक्ने योजना बनाइरहेकाहरू………?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here