– ज्योतिकिरण
नेपाली राजनीतिमा अहिले राजनीतिले फेल खाएको छ । फेल खाएको राजनीतिलाई देखेर मानिसहरूको अतालिएको मनले हर्क बालेन,गोपी हमाल देखि रविसम्मका भूमिकाहरुमा कुनै न कुनै रुपको बैकल्पिक दृष्टि उभ्याउने प्रयत्न समेत गर्यो तर यो प्रयत्न यस्तो हतार र रफ्तारमा छ कि बालेन,हर्क,गोपीहरु अग्नि परीक्षामा छिरिसकेका छन् भने बेचैन जनजीवनका लागि रवि अहिले कुहिएको बासी भात सरह भइसकेका देखिन्छन् । आधारभुत जनतालाई एक मिनेट कतै मौन रहनु पनि लाख वर्ष जस्तो कठिन हुन थालेको छ त्यसैको परिणाम त अहिले दुर्गा प्रसाईँ ताजा,पोषण युक्त र जवरजस्त भोकको उर्जा भएर पर्दामा देखिएका छन् र उनी साच्चिकै राष्ट्रिय रुपमा मात्र होइन अन्तराष्ट्रिय सञ्चारमा समेत रुचिकर युक्त चर्चा र चासोको केन्द्रमा छन् ।
चर्चा काङ्ग्रेस एमाले,माओवादीकै हुनु पर्ने हो,साना ठूला राजनीतिक दल र शक्तिमा खेली आएका खेलाडीहरु नै पर्दामा रहनुपर्ने हो तर यस्तो भइरहेको छैन ।
यस्तो किन भइरहेको छैन त ? दल र तिनका नेता कार्यकर्ताले यो उत्तर खोज्नै पर्ने थियो तर खोज्ने र बुझ्ने कुरामा आज दल र दलका कुनै पनि सदस्य लागेको देखिदैन। टाउका माथि फाटेको झोलामा साथु सामल बोकेर रुँदै काठमाडौँ आइपुगेका अबोध जनताले कठालो छेउमा उभिएर प्रश्न गरिसक्दा पनि पार्टी नेता र कार्यकर्ताहरुको खोपडीको बिर्को उघ्रेला जस्तो देखिदैन । यदी यि दलहरू र दलका नेता कार्यकर्तालाई भित्री सच्चाइ थाहा हुन्थ्यो भने उनीहरुले दुर्गा प्रसाईँलाई मोसो दल्ने र `बौलाहा´ घोषणा गर्ने थिएनन् ।
आज उठेको प्रश्न र सङ्कट:-
३० वर्षदेखि हाम्रो नेतृत्व वर्ग देशलाई स्विजरल्याण्ड र सिङ्गापुर बनाउने र जनतालाई विकास दिने नारा लगाउँदै सत्तामा पुग्ने गरेको छ । सरकारको नेतृत्व गरेका कांग्रेस, एमाले, माओवादीनामका उदारवादी र वामपन्थीहरूले नै आज सम्म यस्तो नारा लगाएर मिलिजुली सत्ताको भोगचलन गरि आएको नेपाली समाज अहिले चरम आर्थिक र राजनीतिक संकट झेलिरहेको छ। गरिबी, बेरोजगारी, युवा पलायन, पारिवारिक समस्या, शिक्षा र स्वास्थ्य सेवामा पहुँच र गुणस्तरमा गिरावट, औद्योगिकीकरणको अभाव, लघुवित्त,सहकारी र वित्तीय मिटर ब्याजीको शोषण र परिवारहरूको उठिबासको समस्या, अविकास, पूर्वाधारहरूको लथालिंग अवस्था, भ्रष्टाचार र कुशासन बेहोरिरहेको छ र यसका लागि यिनै उदारवादी र वामपन्थीहरू जिम्मेवार छन् । यो सत्य चर्को स्वरमा जनतालाई सुनाइरहेको दुर्गा प्रसाईँलाई नै आज पार्टीका नेता कार्यकर्ताले `बौलाहा दुर्गे´ भनिरहेका छन् र `बौलाहा दुर्गे´ निडरता पुर्वक जनतालाई यो सुनाइरहेको छ।
पछिल्ला १७ वर्षको समयावधिका सन्दर्भमा यस्तो जिम्मेवारी वामपन्थीहरूको बढी छ । किनभने यस बिच माओवादी र एमालेका गरी पाँच वामपन्थी नेता (प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, केपी शर्मा ओली) प्रधानमन्त्री भएका छन् । सबैभन्दा बढी समय सरकारको नेतृत्व ओलीले गरेका छन् । यसैले यस बिच देशमा जेजस्तो नीतिगत कारणले आर्थिक-सामाजिक संकट सिर्जिइएको छ, त्यसका लागि सबैभन्दा बढी वामपन्थीहरू नै जिम्मेवार छन् । शक्तिकेन्द्रसँगका जायज वा नाजायज सम्बन्धले थोपरेका अदृश्य थुप्रै संकटको योगदान पनि यसमा जोडिन्छ । यसरी हेर्दा प्रष्ट के देखिन्छ भने, नेपालको अहिलेको अर्थराजनीतिक जटिलता वामपन्थी र उदारवादीहरुले सृजना गरेको संकट हो। यो सङ्कट किन सिर्जना गरेको ? यस्तो गर्न पाइन्छ ? `बौलाहा दुर्गे´ले जिम्मेवार पुर्वक सडकबाट यो प्रश्न गरिरहेको छ। के यो प्रश्न गलत छ ?
पञ्चायतका समयदेखि संवैधानिक राजा र राजसंस्था सहितको एउटा बनिबनाउ राजनीतिक प्रणालीलाई सामान्तवादी राज्य व्यवस्था भन्दै तोडेर सरकारको नेतृत्वमा आएका दल,दलका नेता र कार्यकर्ताहरुमा अर्थतन्त्रका संरचनागत संकटहरू, कर्मचारीतन्त्रको भ्रष्ट चरित्र,परिवारवाद,नोकरसाही लुटको प्रणालीलाई पञ्चायतको काँधबाट सरक्क आफ्ना काँधमा सारेर नव सामान्त बन्न हुन्छ कि हुँदैन ? नयाँ राजा बन्न हुन्छ कि हुदैन ? यो के गरेको लुटेरा सामान्त हो ? गरिबलाई यसरी किन लुट्छौ? `बौलाहा दुर्गे ´यो भनिरहेको छ। के उस्ले भनेको यो कुरा झुटा आरोप मात्र हो ?
सामान्ती संचनाले हुर्काएको आजको दलाल पूँजीपति वर्ग र यस्ले गरेको सम्झौताका कारण अर्थतन्त्र भित्रको संरचनागत लुटपाटमा किन सामेल छ् यो नेतृत्व ? खोइ यसमा गणतन्त्रको हस्तक्षेप ? आप्रवासी बिचौलियाको पञ्जाबाट किन हटेन नेपाली जनतामाथिको अवरोध ? सत्र हजार नेपालीको ज्यान जाने गरी युद्धको खेल खेलेर सत्तामा आएको माओवादीको काम पनि दलाल पुँजीवादकै खातिरदारी हो ? सहरिया सम्भ्रान्त र नयाँ सामन्त बन्ने छुट छ ? खै आज कहाँ छन् तिम्रा क्रान्तिकारी आधार ? माओवादी नेतृत्वको सरकार पनि सर्लक्कै एमाले काङ्ग्रेस जस्तै भए पछि राजा फाल्नुको औचित्य पुष्टि हुन्छ ? के आधारमा यो पुष्टि हुन्छ ? `बौलाहा दुर्गे´ आज यो प्रश्न गरिरहेको छ । के यो प्रश्न नाजायज प्रश्न हो?
नेपालको आर्थिक प्रणालीलाई सीमित पूँजीपति र भारतीय पूँजीको सेपबाट मुक्त गराउने प्रयास भएन । अर्थतन्त्र र वैदेशिक व्यापारमा भारत र त्यहाँको पूँजीपति वर्गसँग लहसिएको अप्राकृतिक वर्ग सम्बन्धको हिस्सा र एकलौटी जस्तो वर्चस्व छ, जसले गर्दा स्वतन्त्र ढंगले राष्ट्रिय पूँजीको विकास र राष्ट्रिय पूँजीपतिको उत्थान अवरुद्ध भएको छ । आर्थिक सुधारका नीतिहरूको उपयोग गर्दै शिक्षा, स्वास्थ्य, बैंक तथा वित्तीय क्षेत्रसहितको सेवा उद्योगमा दलाल पुँजीको आडमा माफिया घरानाहरूको नियन्त्रण छ । सानो हिस्सा कमिसनको दरिद्र स्वार्थमा मुलुकका सबै उद्योग कलकारखाना , प्राकृतिक,जैविक र खनिज श्रोत समेत पुरै बिचौलियाको हातमा सुम्पने र त्यो क्षेत्र पूरै डुबाउने कुकर्म इतिहासदेखि आजसम्म निरन्तर चलिरहेको छ। हरेक दल र त्यसको नेतृत्वलाई उही पूँजीपति घरानाले खरिद गर्ने, राजनीतिक हैसियत किन्ने, नीतिनिर्णयमा प्रभावित गर्ने एवं राज्यका स्रोत र नीतिको दोहन गरेर नाफा कमाउने बिचौलिया पूँजीपति वर्गको उत्थान ‘ मात्र भएको छ । मिहिनेतपूर्वक उद्योग-व्यापार गरेर आफ्नो हैसियत उठाउनु आज देशभक्तहरुलाई आकाशको तारा खसाउनु जस्तै जठिन भएको छ । राज्यका अंगहरू, राजनीतिक नेतृत्व तथा प्रहरी समेत ठेक्कापट्टा गर्ने र कमिसनको खेती गर्नेहरूको परजीवी वर्गमा विकास भएको छ ।
यही कारण औद्योगिक पूँजीवादको विकास अवरुद्ध भएको छ । युवाहरू रोजगारीका लागि आधुनिक दास भएर बिदेशी भुमिमा पुग्न बाध्य भएका छन् । कृषि तथा औद्योगिक क्षेत्र दुवैमा उत्पादनशील श्रम शक्तिको अभाव हुने अवस्था आएको छ । मध्यम तथा साना किसानहरू र उनीहरूसँगै गरिब तथा भूमिहीन किसानहरू बाहिरिने क्रम बढ्दै गएको छ। राष्ट्रिय अर्थतन्त्रमा उद्योग र कृषिको योगदान तीव्र रूपमा घट्यो । राम्रो भएको भनिएका सडक पूर्वाधार, विद्युतीकरण, सञ्चार, पर्यटन र सहरीकरणको समेत उपयोग गर्ने जनसक्ति नहुदा त्यसकै औचित्यमाथि प्रश्नहरु देखा पर्न थाले । सडक,सहरीकरण वा अरु कुनै कुराले पनि नेपाली जनजीवनमा खास उत्पादनमूलक उद्योग फस्टाउने गरी वातावरण बन्न सकेको स्थिति छैन । सेवा क्षेत्रको रोजगारीको ठूलो हिस्सा मुस्किलले स्वरोजगार बन्ने प्रयत्नका खुद्रा र सामान्य व्यवसायले धानेको छ । संकटका अनेक हाँगा छन् । आर्थिक मन्दी छाएको छ। जनताको अर्थतन्त्र यस्तो हुन्छ ? यो के व्यवस्था हो ? `वौलाहा दुर्गे´ यो प्रस्न गरिरहेको छ । के यो प्रश्न नाजायज छ ?
देश निरन्तर ओरालो लागेको छ । मागमा आएको कमिका कारण आयात-आधारित राजस्व खस्केको छ। साधारण बर्च धान्ने हैसियत सरकारसँग छैन । पसलहरू बन्द छन् । घर-सटरहरू खाली छन् । सेयर बजार ओरालो लागेर हजारौंको लगानी डुबेको छ । घरजग्गा कारोबार घटेको छ । विदेश जाने क्रम अत्यास लाग्दोसँग बढेको छ। धेरै सार्वजनिक विद्यालयहरू पार्टीकार्यकर्ता भर्ती गर्ने राजनीतिको अखडा भएका छन् । महँगी बढिरहेको छ । बेरोजगार हुनु र महँगी बढ्नुले संकट भान्सासम्म प्रवेश गरेको छ । समग्रमा, माग र आपूर्ति दुवै खुम्चिदै छन् । तत्काल यसमा सुधारका संकेतहरू छैनन् । ६० प्रतिशत जनसंख्यालाई रोजगारी दिने कृषि क्षेत्रले जीडीपीमा २३ प्रतिशत मात्र योगदान दिन थालेको छ । देशको यस्तो भयावह अवस्थामा पनि बैँकहरूले डरलाग्दो नाफा कमाउने र सीमित घरानाको सम्पत्ति अस्वभाविक रुपमा चुलिने क्रम आज डरलाग्दोसँग चलिरहेको छ । यसै कुरालाई जनता टाट पल्टिने, अनि दलाल पुँजीका अड्डाहरुमा लुटको स्वर्ग चल्ने यो कस्तो गणतन्त्र हो ? `बौलाहा दुर्गे´प्रश्न गरिरहेको छ के यो प्रश्न गलत हो ?
यी संकटका संरचनागत कारण छन् । यस्ता संरचनागत कारणमाथि हस्तक्षेप नगर्ने हो भने हामी थप ओरालो लाग्नेछौं । प्रस्ट औद्योगिक नीतिहरू सहित वस्तु उत्पादन तथा सेवा उद्योगहरूलाई प्रोत्साहन नगर्ने हो भने हामी उपलब्ध जनशक्ति र प्राकृतिक स्रोतको उपयोग गरेर स्वतन्त्र अर्थतन्त्र निर्माण गर्न र पुँजीका नकारात्मक असरको सामना गर्न असफल हुनेछौं । दुई ठूला अर्थतन्त्र बीच हाम्रा जेजति रणनीतिक र भूराजनीतिक लाभका क्षेत्र छन्, तुलनात्मक लाभका जेजस्ता सम्भावना छन्, तिनको उपयोग गर्न असफल भयौं भने राष्ट्र कस्तो जोखिममा पर्ला केवल अनुमान गर्न सकिन्छ । भारतले पछिल्लो समय ऊर्जा क्षेत्रमा गरिरहेको लगानी र चीनसँग बेल्ट एन्ड रोड परियोजना अघि बढाउन गरिएको ढिलाइले एउटा जोखिमपूर्ण भविष्यको अहिले नै पूर्व संकेत भइसकेको छ । यो सङ्कटको समयमै सही उत्तर दिन उदारवादी र वामपन्थीहरूले सक्नै पर्छ तर यिनीहरुबाट यो उत्तरको संभावना छैन ।
यसरी एकपछि अर्को जटिल आर्थिक र राजनीतिक प्रश्नले जेलिएको आजको सरकार,पार्टी, नेता र यो व्यवस्थाप्रति घर-परिवारसम्म असन्तोष फैलिएको छ । समाजमा दिशाहीनता छ । परम्परागत राजनीतिक दलहरूले उत्तर दिन नसकेका प्रश्नहरू लिएरै आम नागरिकले नयाँ दल , नयाँ नेता र नयाँ व्यक्तिलाई पछ्याइरहेका छन् र `बौलाहा दुर्गे´ले त्यो नयाँ मान्छे म हुँ म सबैलाई मुक्तिको समुद्र तार्छु भन्ने कसम खाइरहेको छ । के यो राष्ट्र र जनता बचाउने कसम खानु अपराध हो ? यो भन्नुमा उसले ले के बिराएको छ ?
अबको खतरा र परिणाम :-
न काङ्ग्रेसहरु उदारवादतिर प्रतिबद्ध देखिए न त आफूलाई वामपन्थी भन्नेहरूले नै निष्ठाका साथ वामपन्थी कार्यसूची बोक्ने इमान कायम गर्न सके त्यसैले आज सामाजिक न्याय हारेको छ। दलाल पूँजीवादले कमजोर जनताको छातीमा दाहृा गाडेको छ । कृषि ध्वस्त भएको छ, असमान भूमि सम्बन्धले,भ्रष्टाचार, सेवा प्रवाहमा अत्याचार,अनुत्पादक शिक्षा, ध्वस्त भएको सार्वजनिक स्वास्थ्य सेवा,महङ्गो संघीयता,कमजोर तर भ्रष्ट स्थानीय तह, ऐन बिहिन कर्मचारी, शिक्षा र ऎन बिहिन प्रहरी आदिका कारण संविधानको पूर्ण पालना भएको छैन र हुने स्थिति पनि छैन । यस्तो नालायकीमा संघीयता, प्रदेशहरू, समावेशी र समानुपातिक प्रतिनिधित्व एवं धर्मनिरपेक्षताका विपक्षमा एउटा जबर्जस्त आवाज अगाडि आएको छ र यो अझै बलियोसँग आउने निस्चित छ ।
उदारवादी र वामपन्थीहरूले यसको प्रतिवाद गर्न सकेका छैनन् र सक्ने छैनन् किन भने उनीहरूसँग संविधानको भावनालाई अक्षरशः लागू गर्ने र राज्यका अंग र संस्थाहरूको दलीयकरण अन्त गर्ने नैतिकता बल नै समाप्त भइसकेको छ । दलाल पुँजीपतिको साझेदार दल र नेतृत्वले औद्योगिक पूँजीको विकास गर्ने वा किसानहितको रक्षा गर्ने कुरा केवल बकवास मात्र हो र जनतालाई छल्ने तिकडम मात्र हो । अब जनता यस्तो छलीकुरा पत्याउन तयार छैनन् । यस्तो अवस्थामा हुनु दल असफल हुनु नै हो । समाजलाई बाटो देखाउने काममा दलहरू असफल भएको परिस्थितिमा समाजले दक्षिणपन्थी फाँसीवादको बाटो लिन्छ । दुर्गा प्रसाईँमा यस्तो विचारले जबर्जस्त डेरा जमाएको छ। जानेर वा नजानेर उनले आफूलाई जङ्गबहादुर घोषणा गर्नुको वैचारिक धारा दक्षिण पन्थी फाँसीवाद नै हो । प्रकारान्तरले दुर्गा प्रसाईँले आफ्नो अभियानमा इमान्दार हुन सके भने उनको विचारधारा वामपन्थ र उदारवाद दुवैको निषेधबाट राष्ट्र रक्षा र गरिबीको अन्त्य हो । अहिले स्थापित हुँदै गएको लोकप्रियतावादी राजनीतिले धार्मिक र जातीय श्रेष्ठता, क्षेत्रीय श्रेष्ठता, सभ्यताको श्रेष्ठताको दावी गर्छ । यस्तो विचारलाई जनताले साँच्चै साथदिए र आफ्नो सङ्कटको निकास ठान्न पुगे भनेँ दुर्गालाई बौलाहा भन्नेहरु नै बौलाहा हुने स्थिति आउँछ । होइन दलहरूले यो विचारको प्रतिबाद गर्न सके भनेँ दुर्गा र दुर्गाहरु बौलाहा प्रमाणित हुनेछन्। को हो बौलाहा आगामी राजनीतिले प्रष्ट देखाउने छ। जय बौलाहा राजनीति ।