विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब नाघ्यो

0

देशमा कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्धि भएर १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विवरण अनुसार २०७९ असार मसान्तमा कुल विदेशी विनियम सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो ।

२०८० असार मसान्तसम्म आइपुग्दा उक्त सञ्चिति बढेर १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको हो ।

“आर्थिक वर्ष २०७९/८० को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ,” राष्ट्र बैंकद्वारा शुक्रबार जारी विवरणमा भनिएको छ ।

२०८० असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायकसँगका अनुपातहरू क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका छन् ।

२०७९ असार मसान्तमा यी अनुपातहरू क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विदेश विनिमय सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० असार मसान्तमा २३.१ प्रतिशतले वृद्धि भई ११ अर्ब ७४ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० असार मसान्तमा २७.४ प्रतिशतले वृद्धि भई १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति, २०७९ असार मसान्तमा एक खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० असार मसान्तमा २१.४ प्रतिशतले वृद्धि भई एक खर्ब ९३ अर्ब ५९ करोड पुगेको छ ।
२०८० असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here