‘हत्त न पत्त प्रधानमन्त्री,गृहमन्त्री,अर्थमन्त्रीको राजीनामा माग्ने संस्कार राम्रो होइन : प्रधानमन्त्री

0

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उद्देश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको टिप्पणी गरेका छन्।

इटालीको रोमबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले राखेको जिज्ञाशामा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

सुन तस्करी प्रकरणमा नेकपा (एमाले)ले अर्थमन्त्री डा. प्रकाशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै संसद् अवरोध गरेको विषयप्रति उनले असन्तुष्टिसमेत व्यक्त गरे । ‘हत्त न पत्त प्रधानमन्त्री,गृहमन्त्री,अर्थमन्त्रीको राजीनामा माग्ने संस्कार बसिरहेको छ यो राम्रो होइन। राजीनामा दिने भए देऊ नत्र सदन चल्दैन भन्नु राम्रो होइन।’ उनले भने ।

उनले उपप्रधानमन्त्री, मन्त्रीहरूसँग छलफल गरेर यस विषयमा प्रस्ट पार्ने पनि बताए। स्पष्टीकरणको मौका नै नदिई एकोहोरो राजीनामा मात्रै माग्ने संस्कार राम्रो नभएको प्रधानमन्त्री दाहालको भनाइ छ।

प्रधानमन्त्रीको हैसियतमा संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागिता आफैँमा महत्त्वपूर्ण रहेको उनले जानकारी दिए। विश्व समुदायमा नेपालको उपस्थिति र हैसियत थप स्थापित गर्न सम्मेलन महत्त्वपूर्ण रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here