उपत्यकाका तीन जिल्लाका करिब ११ लाख मतदाताले आइतबार हुने निर्वाचनमा १५ प्रतिनिधिसभा सदस्य र ३० प्रदेश सभा सदस्य चुन्दै छन् । तीन जिल्लामा मतदानका लागि निर्वाचन आयोगले पाँच सय २७ मतदानस्थल तोकेको छ, जहाँ १० लाख ९६ हजार नौ सय ७७ मतदाता छन् ।
आयोगका अनुसार प्रतिनिधिसभाको १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ६ लाख ५२ हजार एक सय २८ मतदाता छन् । तीन क्षेत्र रहेको ललितपुरमा दुई लाख ५० हजार चार सय १० तथा दुई निर्वाचन क्षेत्र रहेको भक्तपुरमा एक लाख ९४ हजार चार सय ३९ मतदाता रहेका छन् । काठमाडौंमा तीन सय २०, ललितपुरमा एक सय ३१ त्था भक्तपुरमा ७६ मतदानस्थल तोकिएको छ ।
उपत्यकाका पाँच सय २७ मतदानस्थल संवेदनशील
देशभरि तीन हजार ६५ मतदानस्थललाई गृह मन्त्रालयले अति संवेदनशीलको सूचीमा राखे पनि उपत्यकामा भने एउटा पनि मतदानस्थल सुरक्षाका दृष्टिकोणले अति संवेदनशीलको सूचीमा छैन । गृहले मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन समूहमा विभाजन गरेको छ । उपत्यकाका पाँच सय २७ मतदानस्थललाई संवेदनशील र सामान्यमा मात्र राखिएको छ ।