- के निर्वाचनबाट प्राप्त परिणामले देशको रोग निको हुन्छ ? मुख्य प्रश्नको उत्तर अझै अमूर्त छ।
- कमजोर राजनीतिक चरित्र भएको राष्ट्रलाई सामान्य बाह्य दबाब वा आन्तरिक कलहले पनि अस्थिर बनाइदिन्छ ।
नेपालको राजनीति अहिले ‘आइसियु’ मा त छैन, तर यसको प्रतिरक्षा प्रणाली पूर्ण रूपमा ध्वस्त हुने संघारमा छ।
– ज्योतिकिरण
मानव शरीर र राज्य व्यवस्थाबीच एउटा गहिरो समानता छ त्यो हो दुवैलाई जीवित र गतिशील राख्न एउटा बलियो प्रतिरक्षा प्रणाली आवश्यक पर्छ। चिकित्सा विज्ञानमा जब शरीरको प्रतिरक्षा प्रणालीले बाह्य भाइरस चिन्न छोड्छ वा आफ्नै स्वस्थ कोषिकालाई शत्रु ठानेर नष्ट गर्न थाल्छ, त्यसलाई ‘अटो-इम्युन डिजिज’ भनिन्छ। आज नेपालको राजनीति ठ्याक्कै यही ऐंजेरुले ग्रस्त छ। अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले पहिलो पल्ट माघ १९ गते सोमबार सङ्घीय संसद पुगेर राष्ट्रिय सभालाई सम्वोधन गर्दै देशलाई लागेको यही रोगबारे प्रष्ट पार्ने प्रयत्न पनि गरिन्। तोकिएको मितिमा स्वच्छ , निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई शक्ति सुम्पन आफ्नो सरकार आतुर रहेको कुरा सदनलाई बताइन् । आफू प्रधानमन्त्री बन्नुको बाध्यात्मक अवस्था र मुलुकको जटिलतालाई आफ्नै शैलीमा बताएकी प्रधानमन्त्री कार्कीले मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको कुराबारे बहुकोणबाट स्पष्ट सन्देश पनि दिइन। सरकारको भूमिकामा रहेर उनले गर्नुपर्ने र भन्नुपर्ने कुरा त्यही नै हो। तर के निर्वाचनबाट प्राप्त परिणामले देशको रोग निको हुन्छ ? मुख्य प्रश्नको उत्तर अझै अमूर्त छ। यो अमुर्त उत्तरलाई मूर्तमा रूपान्तरित गर्ने दायित्व निर्वाचनका मतदाताहरूकै काँधमा छ ।
शरीरमा ‘एन्टिबडी’ को काम बाह्य संक्रमणलाई रोक्नु हो भने जस्तै राजनीतिमा नैतिकता, विधिको शासन र वैचारिक निष्ठा राजनीतिक एन्टिबडी हुन्। जब राजनीतिमा यी तत्वहरू क्षयीकरण हुन्छन्, तब समाजमा भ्रष्टाचार र दण्डहीनता जस्ता भाइरसहरूले सहजै प्रवेश पाउँछन्। अहिले नेपालको राजनीतिमा यी एन्टिबडीहरू यति कमजोर भएका छन् कि, जसले संविधान र कानुनको रक्षा गर्नुपर्ने हो, उनीहरू नै त्यसको भक्षणमा तल्लीन भएका छन्। चिकित्सा शास्त्रमा सबैभन्दा खतरनाक स्थिति तब हुन्छ जब शरीरको रक्षक नै भक्षक बन्छ। नेपालको राजनीतिक सन्दर्भमा संवैधानिक अंगहरू यसमा पर्छन् जुन अंगहरूले राज्यको सन्तुलन मिलाउनुपर्ने हो तर ती हिजो देखि आजसम्म नेताका दलीय स्वार्थको इन्जेक्सनले लठ्ठिएका छन्। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको सन्तुलन बिग्रनु भनेको शरीरका महत्वपूर्ण अंगहरू मिर्गौला, मुटु र फोक्सोले एकअर्कालाई सहयोग गर्न छोड्नु जस्तै हो। जब राजनीतिक दलहरूले जनताको हित (स्वस्थ कोषिका) लाई छोडेर केवल सत्ताको अंकगणित (कन्सर सेल) लाई मलजल गर्छन्, तब व्यवस्था नै धराशायी हुन्छ । आज देशको राजनीति ठिक यही अवस्थामा गुज्रिएको छ।
जसरी शरीरमा लामो समयसम्म संक्रमण रहिरह्यो भने त्यसले अंगहरूलाई स्थायी रूपमा क्षति पुर्याउँछ त्यस्तै नेपालको राजनीतिमा भ्रष्टाचार र अस्थिरता एउटा यस्तै ‘क्रोनिक इन्फ्लामेसन’ हो। बारम्बार फेरिने सरकार, अप्राकृतिक गठबन्धन र नीतिगत विचलनले देशको अर्थतन्त्र र प्रशासन संयन्त्रलाई ‘मल्टी-अर्गन फेलियर’ को दिशामा धकेलेको सत्यलाई मतदाताले अब बुझ्नै पर्छ जसरी कमजोर प्रतिरक्षा प्रणाली भएको मानिसलाई सामान्य रुघाखोकीले पनि थला पार्छ, त्यसैगरी कमजोर राजनीतिक चरित्र भएको राष्ट्रलाई सामान्य बाह्य दबाब वा आन्तरिक कलहले पनि अस्थिर बनाइदिन्छ । यो बिग्रिएको राजनीतिक स्वास्थ्यलाई सुधार्न सामान्य ‘पेनकिलर’ (सतही सुधार) ले पुग्दैन। यसका लागि अपराधीकरण र भ्रष्टाचारको विषाक्ततालाई राजनीतिबाट पूर्ण रूपमा विस्थापित गर्ने, युवा पुस्ता र वैचारिक स्पष्टता भएका व्यक्तिहरूलाई नेतृत्वको अग्रपंक्तिमा ल्याउने,शरीरको डीएनए (DNA) ले जस्तै संविधानले निर्दिष्ट गरेको बाटोमा हिँड्ने अनुशासन कायम गर्ने जस्ता गम्भीर शल्यक्रिया र इम्युनोथेरापी यही निर्वाचन मार्फत गर्न आवश्यक छ ।
घातक इन्फेक्सनको खतरा:
जसरी शरीरको प्रतिरक्षा प्रणालीले बाह्य भाइरससँग लड्ने शक्ति दिन्छ ठिक त्यसैगरी, राजनीतिको प्रतिरक्षा प्रणालीले समाजलाई अराजकता, झुट र सस्तो लोकप्रियतावादबाट जोगाउँछ। जब यो प्रणाली कमजोर हुन्छ, तब लोकप्रियतावादको भाइरसले राज्यका अंगहरूलाई विस्तारै गलाउन थाल्छ। हाम्रो देशको राजनीति आज ठिक यही लोकप्रियताबादी घातक इन्फेक्सनको खतरामा परेको देखिन्छ।
लोकप्रियतावाद सुन्दा जनताको पक्षमा जस्तो लागे पनि यो वास्तवमा लोकतन्त्रको ‘अटो-इम्युन डिजिज’ हो। यसले जटिल समस्याहरूको अत्यन्तै सतही र सस्तो समाधान देखाएर निरन्तर ब्ल्याकमेल गरिरहन्छ। लोकप्रियवादी नेताहरूले जनताको आर्थिक अभाव र आक्रोशलाई पुँजीकृत गर्छन्। उनीहरू ‘हामी’ र ‘उनीहरू’ बीचको खाडल खनेर समाजलाई ध्रुवीकृत गर्छन् अहिले ‘हामी ‘ र ‘ उनीहरू’ को ठाउँमा ‘नयाँ ‘ र ‘पुरानोको ‘ को बर्गभेद चलिरहेको छ । जब कुनै नेताले आफूलाई कानुन र पद्धतिभन्दा माथि राखेर “म मात्रै तिम्रो मुक्तिदाता हुँ” भन्न थाल्छ, त्यहाँबाट पद्धतिको विनाश सुरु हुन्छ । आज हरेक मतदाताले पद्धतिको विनासमा को उद्दत छ ? छुट्याउन सक्नु पर्ने छ।
इतिहास साक्षी छ। संसारले त्यतिबेला मात्रै गति लिएको छ जब नेतृत्वले लोकप्रिय हुने लोभ त्यागेर लोकहितको बाटो रोज्न सक्यो । विश्व चर्चित नेता विन्स्टन चर्चिलले भनेका छन् , “लोकतान्त्रिक राजनीतिमा नेतृत्वको परीक्षा उसले गर्ने भाषणमा होइन, उसले निर्माण गर्ने पद्धतिमा हुन्छ।” अमेरिका गृहयुद्धले थिलथिलो भएको बेला अब्राहम लिङ्कनले कहिल्यै सस्तो नारा दिएनन्। उनले “विभाजित घर टिक्न सक्दैन” भन्दै राष्ट्रिय एकताका लागि कठोर र अलोकप्रिय निर्णयहरू लिए । २७ वर्षको जेल जीवनपछि निस्किँदा नेल्सन मण्डेलाले प्रतिशोधको राजनीति गर्न सक्थे, जुन तत्कालीन समयमा निकै लोकप्रिय पनि हुन्थ्यो। तर, उनले सत्य र मेलमिलाप को बाटो रोजेर दक्षिण अफ्रिकाको राजनीतिक प्रतिरक्षा प्रणालीलाई बलियो बनाए।नेपाली सन्दर्भमा राजा महेन्द्र, बिपी कोइराला,पुष्पलाल र तुलसी लाल श्रेष्ठ एक यस्ता चिन्तक थिए जसले ‘भीड’ र ‘जनता’ बीचको फरक बुझेका थिए। उनीहरूले कहिल्यै सस्तो लोकप्रियताका लागि सिद्धान्त बेचबिखन गरेनन् । यसपटकको निर्वाचनमा जनताले इतिहासको यस्तो आँखीझ्यालमा पनि नजर लगाउन सक्नुपर्छ।
निश्कर्ष:
नेपालको राजनीति अहिले ‘आइसियु’ मा त छैन, तर यसको प्रतिरक्षा प्रणाली पूर्ण रूपमा ध्वस्त हुने संघारमा छ। यदि बेलैमा राजनीतिक कोषिकाहरूमा नैतिकताको पुनर्जीवन गरिएन भने, यो ‘अटो-इम्युन’ रोगले राष्ट्रको अस्तित्व नै संकटमा पार्न सक्छ। स्वास्थ्य र राजनीति दुवैमा एउटै सत्य लागू हुन्छ— भित्रैबाट बलियो नभएसम्म बाहिरको ओखतीले मात्र जीवन धान्न सकिँदैन।
राजनीतिको बिग्रिएको प्रतिरक्षा प्रणाली सुधार्न ‘एन्टिबायोटिक’ ले मात्र काम गर्दैन, यसका लागि संवैधानिक नैतिकताको पुनर्जागरण आवश्यक छ। हामीलाई यस्तो नेतृत्व चाहिएको छ, जसले आगामी निर्वाचन मात्र होइन, आगामी पुस्ताको भविष्य देख्न सकोस्। लोकप्रियतावादले क्षणिक ताली त दिन्छ, तर इतिहासले उसलाई मात्र सम्झन्छ जसले कठिन समयमा सही र न्यायपूर्ण बाटो हिँड्ने साहस गर्छ । देशलाई आज सुपरस्टार नेता होइन, सिस्टम बलियो बनाउने दूरद्रष्टा राजनेताको खाँचो छ । यो पटकको निर्वाचनले दिएको नागरिक दायित्व पनि यही नै हो ।


