पौष ३,काठमाडौँ। वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजाल सम्मानित हुनुभएको छ। ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिलेको २८औँ वार्षिक साधारण सभाको अवसरमा वहाँलाई ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको ‘संस्थापक तथा संरक्षक’ को रुपमा विशेष सम्मान गरिएको थियो।
मंगलबार धुम्बाराहीस्थित होटल रामादा अकामामा आयोजित भव्य समारोहमा डा. रिजाललाई ॐ हस्पिटलका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठले माला, दोसल्ला तथा कदरपत्र हस्तान्तरण गरी सम्मान गर्नुभएको थियो।
सम्मान ग्रहण पछि सभालाई सम्बोधन गर्दै डा. रिजालले अस्पतालको परिकल्पना, सुरुवाती दिनका संघर्ष , आफ्नो भोगाइ र यादहरु स्मरण गर्दै आजको ॐ हस्पिटल देशले गर्व गर्न लायक निजी क्षेत्रको अब्बल स्वास्थ्य सेवा प्रदायक संस्था बनाउन अहोरात्र लागि परेका सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।