चितवन – चितवनको भरतपुर महानगरपालिकासहित सबै स्थानीय तहमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्ने निर्णय भएको छ ।
आज सोमबार सम्पन्न सत्तारुढ गठबन्धनको बैठकले चितवनको सात वटै स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गरेको हो । उता भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले पुनः मेयरमा दाबी गरिसकेको छ । तर, यसका लागि आवश्यक छलफल गर्ने तय गरिएको गठबन्धन बैठकमा सहभागी एक नेताले बताए ।
काँग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गरी जाने निर्णय गरिएको बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र निर्माण गरी छलफल प्रक्रिया अगाडि बढाइने निर्णयमा उल्लेख छ । संयुक्त संयन्त्रको संयोजन नेपाली काँग्रेसको पालिका सभापतिले गर्ने सहमति भएको छ । यस्तै गठबन्धन सहभागी दलहरूका वीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको बिकास गर्दै संयुक्त रुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।