काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले महानगरको झण्डा ओढाएका छन् ।
बिहीबार बिहान उपचारका क्रममा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएका रिजालको पार्थिव शरीरलाई सभागृहमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । रिजाललाई अन्तिम बिदाईसँगै श्रद्धाञ्जली दिन अर्थमन्त्री प्रकाशशरण महत, कांग्रेस महामन्त्री गगन थापा, मेयर साहलगायत राष्ट्रिय सभा गृह पुगेका थिए ।
वडाध्यक्ष रिजालको निमोनियाका कारण निधन भएको हो । १७ भदौमा उपचारका लागि ग्रान्डी अस्पताल भर्ना भएका रिजालको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भएको थियो । उनको बिहीबार बिहान ७ बजेर ३० मिनेट जाँदा निधन भएको अस्पतालका स्वास्थ्य निर्देशक डा विनोद विजुक्छेले जानकारी दिए ।