बबरमहलस्थित जिल्ला अदालत काठमाडौंको स्टोरबाट छ बोरा सुन निकालिएको छ । मंगलबार तोडफोडपछि ध्वस्त बनेको अदालत भवनबाट निकालिएको छ बोरा सुन र चाँदी नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा बुझाइएको छ ।
अदालतमा फेला परेको सुन र चाँदीबारे अदालत र राष्ट्र बैंकका अधिकारीहरुले बताउन चाहेनन् । अदालत स्रोत भन्छ, ‘सही सलामत हालतको बोरा बाहिर सेतो कपडाले मोरेर लाहा छाप लगाएका बोराको धातु सुरक्षाको लागि राष्ट्र बैंकमा बुझाइएको छ । तौल गर्दा एक बोरामा १७ देखि १८ केजीको हाराहारीमा रहेका ती सामानभित्र सुन वा चाँदी भन्ने खुलेको छैन । एक सय केजीभन्दा बढीको उक्त धातुमध्ये धेरै सुन हुनसक्छ ।’
प्रहरीले पक्रेको चोरीको अवैध सुन र चाँदी मुद्दा विचाराधीन रहेको अवस्थामा अदालतमा राखिएको थियो । त्यस्तो सुन र चाँदीको हिसाब राखिएका फाइल र रजिष्टर डढेकाले अदालतको स्टोरमा सुन र चाँदी कति थिए भन्ने हिसाब निकाल्न गाह्रो भएको बताइन्छ । वर्षौंदेखिको त्यस्तो सुन र चाँदी धेरै भएकाले आगलागी र लुटपाटमा अरु बोरा हराएको हुनसक्ने अनुमान केहीको छ ।
राष्ट्र बैंकका अधिकारीहरुले अदालतले प्रक्रिया पुर्याएर ल्याएको छ बोरा धातु प्रक्रिया पुर्याएर सुरक्षितसाथ ढुकुटीमा राखिएको बताए । मुद्दा जितेको अवस्थामा ती सुन तथा चाँदी सम्बन्धित व्यक्ति वा फर्मलाई दिने अन्यथा प्रचलित भाउमा राष्ट्र बैंकलाई बेचेर रकम राजश्व दाखिला गर्ने प्रचलन छ । आज नेपाली बजारमा सुनको भाउ प्रति तोला दुई लाख १५ हजार आठ सय छ । हिजो भेटिएको करिब एक सय केजी सुनलाई तोलामा परिणत गर्दा करिब ९ हजार तोला हुन आउँछ ।